विर्तामोड । झापाका पत्रकार खगेन्द्र घिमिरेलाई समाचार नलेख्न भन्दै घुस दिने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्कामाथि छानविन सुरु भएको छ ।
प्रहरी निरीक्षक खड्काले शनिबार पत्रकार घिमिरेलाई तस्करीको समाचार नलेख्न भन्दै १० हजार घुस दिएका थिए । पत्रकार घिमिरेले तत्कालै पैसा डिएसपीलाई फर्काएर घटना सार्वजनिक गरेपछि प्रहरी निरीक्षक खड्का छानविनमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले घट्नाको सत्यतथ्यसहितको प्रतिवेदन तत्काल पेस गर्न इप्रका काँकडभिट्टाका डिएसपी डिएसपी राजेन्द्र पोखरेललाई लिखित निर्देशन दिएको बताउनुभयो ।
एसपी कोइरालाका अनुसार समाचार सार्वजनिक हुने वित्तिकै लिखित निर्देशन दिएर हेडक्वाटरमा पनि रिपोर्टिङ गरिएको छ । काँकडभिट्टा नाकामा हुने तस्करीका सम्बन्धमा पत्रकार घिमिरेले शुक्रबार अनुसन्धान अनलाइनमा ‘रातमा प्रहरी साइट लागि दिँदा सुपारी तस्करी मालामाल’ शिर्षकको समाचार लेखेका थिए ।
प्रहरी निरीक्षक खड्काले थप समाचार नलेख्न आग्रह गर्दै १० हजार घुस दिएका थिए । पत्रकार घिमिरेले प्रहरी निरीक्षकसँगको अडियो सम्वाद र पैसाको तस्विर सुरक्षित गरेका छन् ।