विराटनगर । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरस संक्रमण विश्वव्यापी फैलिरहेको भएपनि अहिलेसम्म नेपाल सुरक्षित रहेकोमा सन्तुष्ट हुनुपर्ने बताउनुभएको छ ।
नेपालमा एकजना संक्रमित भेटिएको भएपनि थप व्यक्तिमा संक्रमण नभएको र संक्रमित व्यक्ति पनि उपचारपछि सकुशल घर गएको अवस्थामा यो विषयलाई अतिरञ्जित बनाएर त्रासको वातावरण सिर्जना गर्न नहुने मन्त्री घिमिरेले बताउनुभयो ।
प्रदेशसभाको बिहीबारको बैठकमा मन्त्रालयको विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री घिमिरेले कोरोना भाइरस संक्रमणबाट जोगिनुपर्ने तर त्यसलाई भयावहरुपमा बुझ्ने र बुझाउने प्रवृत्ति गलत हुने दावी गर्नुभयो । अनुचित लाभ लिन र कालोबजारी गर्न पनि गलत प्रकारको प्रचार भएको उहाँको भनाइ छ । सँगसँगै कोरोना केही होइन भनेर बुझ्नु पनि गलत हुने भन्दै उहाँले सचेत रहनेतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
कोरोनाको संक्रमण विश्वव्यापी भएसँगै समाजमा पुराण गर्ने कि नगर्ने, विवाह, ब्रतबन्ध के गर्ने, विद्यालय र उद्योग कलकारखाना चलाउने कि बन्द गर्ने जस्ता धेरै प्रश्न आउने गरेको भन्दै मन्त्री घिमिरेले सचेततापूर्वक अहिले त्यस्ता समारोहहरु अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपालमा संक्रमण प्रवेश नभइसकेको, सिमा जोडिएका भारततर्फ पनि त्यो समस्या नदेखिएको तथा चीनसँगको नाका पनि बन्द रहेकोले अहिले नै आत्तिन नपर्ने उहाँको भनाई छ ।
आगामी दिनमा आउनसक्ने जोखिमप्रति सरकार सचेत भएरै अस्पतालहरु तथा अन्य आवश्यक संरचना र यन्त्र उपकरणहरु तयारी अवस्थामा राख्ने प्रयत्न गरिरहेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
संसद प्रवेश गर्नुअघि हेण्डवास
प्रदेशसभाको बैठक कक्षमा प्रवेश गर्नुअघि अनिवार्य हेण्डवास गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेशसभामा बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले हात धुदाँमात्र पनि संक्रमणको सम्भावना धेरै घटाउन सकिने भन्दै त्यसलाई हरेक कार्यालय समारोह स्थलहरुमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकहरुमा हातधुने बानी तथा हाच्छ्युँ गर्ने प्रवृत्तिमा सुधार गर्ने विषयमाा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोना भाइरसको विश्वव्यापी संक्रमण, त्यसबाट भएका धनजनको क्षतिको विवरण सदनमा प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालमा कोरोनाको संक्रमण भए त्यसबाट उत्पन्न हुनसक्ने असामान्य अवस्थासँग जुध्ने सरकारको तयारी बारे जानकारी माग्नु भएको थियो । उहाँले संकटको अवस्था उत्पन्न भए खाद्यान्न र औषधिको जोहो छ कि छैन भनेर प्रश्न गर्नुभएको थियो । उहाँले सिंघीया नदी सफाईमा मन्त्री स्वयं अध्यक्ष भएको, आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रति भएको, अर्को निर्वाचन क्षेत्रमा फोहोर फालेको, जस्ता आरोप लगाउनुभएको थियो ।
जवाफमा मन्त्री घिमिरेले जिल्ला आयुर्वेद कार्यालयलाई अस्पतालको रुपमा विस्तार गर्न अन्यत्र उपयुक्त ठाउँमा सार्न लागेको, धनकुटामा मेडिकल कलेज स्थापना गर्ने सम्भाव्यता अध्ययन सकिएको र जमिन प्राप्तीको प्रकृया अघि बढेको, मन्दिरहरुलाई व्यवस्थित गर्ने प्रयत्न गरिरहेको आदि बारेमा सदनमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
बिहीबारको बैठकले प्रदेश जनस्वास्थ्यको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउने निर्णय गरेको छ । प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।