भलुवा खोलाको उत्खनन् स्थानीयले रोके

विराटनगर । मोरङको केराबारी गाउँपालिका स्थित भलुवा खोला र तुर्के खोलाबाट ढुंगागिटी उत्खनन् गर्न स्थानीयले रोक लगाएका छन् ।

मापदण्ड विपरित खोला उत्खनन् गरी ढुंगागिटी लगेको र प्रकृतिको दोहन गरेको भन्दै मंगलबार केराबारी ९ का स्थानीयले उत्खनन्मा अवरोध गरेका थिए । अवरोधपछि भलुवा भन्ने ठाउँमा ढुंगागिटी उत्खनन्मा प्रयोग भएको स्काभेटर र अन्य औजार उपकरणहरुसमेत फिर्ता भएको छ ।

केराबारी गाउँपालिकाले भलुवा र तुर्के खोलाबाट २ लाख घनमिटर ढुंगागिटी उत्खनन् गर्नेगरी ठेक्का लगाएको छ । ठेक्का सम्झौतामा खोलामा बढीमा १३० सेन्टिमिटर अर्थाक करिव ५ फिट गहिरो च्यानल बनाउनुपर्ने भनिएको छ । तर, त्यसलाई ठेकेदारहरुले उल्लंघन गरी जथाभावी उत्खनन् गर्न थालेपछि स्थानीयले विरोध गरेका थिए । त्यसबारे स्थानीयले गाउँपालिकाकोसमेत ध्यानाकर्षण गराउँदा वेवास्ता गरेपछि बुधबार स्थानीयले खोलामै गएर उत्खनन् बन्द गराएका हुन् ।

प्राकृतिक स्रोतमाथिको दोहन थामिनसक्नु भएपछि उत्खनन् रोकेर स्थानीयले त्यसक्षेत्रमा नापी गरेका छन् । त्यस क्रममा खोला २९ फुटसम्म गहिराो बनाएको पाइएको स्थानीय सनबहादुर बस्नेतले जानकारी दिनुभयो । बस्नेतले भन्नुभयो ‘५ फिट गहिरो बनाउने सम्झौता उल्लंघन गर्दै ठेकेदारले २९ फिटसम्म खनेको पाइएको छ, यस्तो अवस्था जनताले हेरेर बस्न सक्दैन ।’ स्थानीयले सम्झौता विपरित उत्खनन् गरेको र प्रकृति नष्ट गरेको विषयमा छानविन हुनुपर्ने माग गरेका छन् ।

गाउँपालिकाले ठेक्का लगाए अनुसार दुईवटा खोलाबाट उत्खनन् गर्नुपर्ने २ लाख घन मिटर ढुंगागिटी उत्खनन् गरिसकेको स्थानीयले बताएका छन् । भलुवा र तुर्के खोलाको विभिन्न तीन वटा प्वाइन्टबाट आवश्यक परिमाणमा ढुंगागिटी लगिसकिएको बस्नेतले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार चुरे क्षेत्रबाट ठेकेदारले अवैधरुपमा ढुंगासमेत चोरी गर्ने गरेका छन् । सम्झौतामा ढुंगा लैजान नपाइने उल्लेख भएपनि ठेकेदारले चुरेबाट लाखौं घनमिटर ढुंगा अवैधरुपमा उत्खनन् गरेर लगेका छन् । चुरेबाट चोरेर ल्याएको ढुंगा भलुवाको तल्लो भागमा जम्मा गरेर मेसिनले फुटाएर ढुवानी गर्दा पनि गाउँपालिका र स्थानीय प्रशासन मौन बसेको स्थानीयले आरोप लगाएका छन् ।

बिहिबार, २२ फागुन, २०७६, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर