काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा बुधबार मिर्गौलाको सफल प्रत्यारोपण भएको छ ।
शिक्षण अस्पताल काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् । भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको प्रत्यारोपणमा संलग्न डा.अरुण सायमीले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले पिशाव पनि फेरेकोले मिर्गौलाले काम गर्न थालिसकेको छ । मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र मिगौला दिने भाञ्जी समीक्षा संग्रौलालाई पोस्ट अपको आईसीयुमा सारिएको छ । अब प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज नहुन्जेल त्यहीँ राखिने अस्पतालले जनाएको छ ।
प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्रीको होस खुलेको चिकित्सकहरुले बताएका छन् । समीक्षाको देब्रे मिर्गौला झिक्ने शल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणको करिब डेढ घण्टापछि प्रधानमन्त्रीको होस खुलेको हो । नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले नयाँ मिर्गौलाबारे तीन घण्टा पछाडिको अवस्था हेर्ने र यसपछि तीन दिन तथा एक सातासम्म मिर्गौलाले अहिले जस्तै काम गरे ढुक्क हुने बताइएको छ । त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनबाट बिहान १० बजेर ५ मिनेटमा प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरमा लगिएको थियो । उहाँको करिब ५ घण्टामा अप्रेशन सकिएको थियो । ओलीको शल्यक्रिया डा.प्रेम ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले गरेको हो ।
प्रधानमन्त्री ओलीले १३ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि पहिलो पटक प्रत्यारोपणमा संलग्न हाल म्याक्स अस्पतालमा कार्यरत डा. अनन्तकुमार पनि आएका थिए ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो । यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायतको टोली थियो ।
यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्य लगायतका टोलीको सहभागिता रहेको अस्पतालले जनाएको छ । मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको बताइएको छ ।