विराटनगर । विराटनगर महानगरपालिका– १९ मिलनचोकमा टिपरको ठक्करबाट मंगलबार राति दुई जनाको मृत्यु भएपछि त्यहाँको अवस्था रातीदेखि नै तनावग्रस्त बनेको छ ।
पुष्पलालचौक–विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा राति साढे ९ बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोरङ ग्रामथान–२ का ठक्करबाट अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीय नातिनी सबिता सरदार रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिफरले विपरित दिसाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी–५ बस्ने ३३ वर्षीय हरेराम चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
स्थानीयले भने चालकलाई कडा कारबाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र विराटचोक–घिनाकाट सडकबाट टिफर आवागमनमा रोक लगाउनु पर्ने माग गरेका छन् । स्थानीयले सडकमा नाराबाजी तथा प्रदर्शन गरेका छन् । घटनास्थलमा १ सयको संख्या भन्दा बढी प्रहरी परिचालन गरिएको छ । उक्त बाटोमा तीन ठाउँमा टायर बालिएको छ । रुख ढालिएको छ । साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारी साधन बन्द गरिएको त्यहाँबाट हाम्रा सम्वाददाता राकेश कर्णले जानकारी दिएका छन् । घटनापछि आक्रोशित स्थानीयले राती नै दुईवटा टिफरमा आगजनी गरेका थिए ।