विराटनगर । कोरोना भाईरसको संक्रमण विश्वभर फैलिएको बेला प्रदेश नं. १ को राजधानी विराटनगरमा एक्कासी मास्कको अभाव देखिएको छ ।
नोबेल कोरोना भाईरसको संक्रमण अनियन्त्रित रुपले बढेसँगै विराटनगर बजारमा मेडिकल फेसमास्कको अभाव देखिएको हो ।
विशेषगरी औषधी पसलहरुले खुद्रामा तथा सर्जिकल व्यापारीहरुले थोकमा बिक्री वितरण गर्दै आएको फेसमास्क हाल बजारमा पाउँनै छाडेको छ । बिशेषः टु प्लाई र थ्री प्लाई ईयरलुप फेस मास्कहरु चीनमा उत्पादन भई नेपाल आयात हुने गरेको थियो ।
विराटनगरका व्यापारीहरुले काठमाडौंदेखि आयात गरेर मास्क बिक्री वितरण गर्दै आएका थिए । प्रकृति र विशेषता अनुसार थोकमा १ सय २५ देखि १ सय ५० रुपैयाँ र खुद्रामा ५ रुपैयाँमा मास्क बिक्री वितरण हुँदै आएको थियो । तर, पछिल्लो समय विराटनगर बजारमा मास्कको अभाव देखिएपछि कालोबजारी सुरु भएको छ ।
अहिले ५ रुपैयाँमा पाउने मास्क लुकीछिपी ३० देखि ३५ रुपैयाँमा बिक्री वितरण भईरहेको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाईरसको प्रभावस्वरुप चीनमै मास्कको खपत बढेपछि आयातमा न्युनीकरण भएको र बजारमा मास्कको अभाव देखिएको औषधी व्यवसायी मुकुल अग्रवालले बताउनुभयो ।
विराटनगरमा ५० भन्दा बढी औषधी व्यापारीहरुले मास्कको आयात गर्दै आएका छन् । तर, हाल विराटनगरमा एउटा मास्क पनि पाउन कठिन छ । फेस मास्कको अभावबाट अस्पतालहरु पनि बञ्चित छैनन् । अस्पतालहरुमा समेत मास्कको अभाव देखिएको छ । मासिक १ हजारदेखि १२ सय रुपैयाँसम्म खपत हुने गरेको कोशी अञ्चल अस्पताल विराटनगरमा समेत मास्कको अभाव देखिएको छ ।
सामान्यतः प्रयोग गरिने कपडाको मास्कको तुलनामा मेडिकल फेसमास्क विशेष मानिन्छ । यो मास्क कपडाको मास्क जस्तो स–साना छिद्ररहित हुने र यसमा बाहिरका कणहरु नटासिने भएकाले यसलाई सुरक्षित मानिन्छ । विशेषगरी उद्योगधन्दा तथा कलकारखाना र अस्पतालहरुमा यसको प्रयोग तथा माग बढदो छ ।
सम्पूर्ण विषयवस्तुलाई मध्यनजर गर्दै यस किसिमको कालाबजारी रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन अत्यावश्यक देखिन्छ ।