लोड हुँदैछ...

मेनु

कोरोना फैलन नदिने सतर्कता

शंकास्पद व्यक्तिको नमूना संकलन गरिने

शंकास्पद व्यक्तिको नमूना संकलन गरिने

विराटनगर । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरस (कोभिड१९) को उच्च जोखिममा समावेश गरेपछि प्रदेश १ मा पनि सर्तकता अपनाउन शुरु गरिएको छ ।

कोरोना भाईरसको संक्रमण भएको शंका लागेका व्यक्तिको नमूना संकलन विराटनगरमा गर्नेगरी तयारी शुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएइको छ ।

सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले प्रदेश नं. १ का तीन स्थानका क्वारेन्टाईन चेकपोष्ट प्रभावकारी बनाईने निर्णय गरिएको छ । विराटनगरको सीमावर्ती नाका जोगवनी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकामा रहेको क्वारेन्टाईन चेकपोष्टलाई प्रभावकारी बनाईने निर्णय भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

बैठकले आवस्यक प्राविधिक जनशक्ति र उपकरणसमेतको प्रवन्ध गर्ने निर्णय गरेको छ । शंकास्पद व्यक्तिको नमूना संकलनका लागि विराटनगरसम्म ल्याउनका लागि तीन स्थानमा एम्बुलेन्सको पनि व्यवस्था गरिने भएको छ । बैठकले सार्वजनिक स्थलमामा सुरक्षा सर्तकताका लागि जनचेतनामुलक कार्यक्रम पनि गर्ने निर्णय गरेको छ ।

बैठकले एक प्राविधिक समिति पनि बनाउने निर्णय गरेको छ । समितिमा प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा, कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजका प्रमुख वा प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सम्मिलित रहने मन्त्रालयले बताएको छ ।
मन्त्री घिमिरेको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिष्ट डा.त्रिभुवन शाह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखाका डा.नरेन्द्रपुकार खनाल, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहतालगायतको सहभागिता रहेको थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयकोे टोलीले जोगवनी नाका, कोशी अस्पताल, प्रदेश प्रयोगशालाको अनुगमन गरेको छ । नमूना संकलनका आवस्यक स्थलको छनौटका लागि मन्त्रालयको टोली विराटनगर आएको हो ।

चीनबाट फैलिएको कोरोना भाईरसको संक्रमण अहिले विश्वका ५८ देशमा फैलिएको छ भने ८७ हजार १ सय ३७ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।