लोड हुँदैछ...

मेनु

गतवर्ष प्रतिघनमिटर २ सय ६१ रुपैयाँ/यो वर्ष २ सय रुपैयाँ मात्र

सस्तोमा ढुंगागिटी बेच्दा केराबारीलाई करोडौं घाटा

सस्तोमा ढुंगागिटी बेच्दा केराबारीलाई करोडौं घाटा

विराटनगर । मोरङको केराबारी गाउँपालिका अन्तर्गत पर्ने तीन वटा खोलाबाट ढुंगागिटी उत्खनन् तथा निकासी ठेक्कामा व्यवसायीहरुले सिण्डिकेट लगाउँदा स्थानीय सरकारलाई करोडौं रुपैयाँ नोक्सानी भएको छ ।

केराबारी गाउँपालिका अन्तर्गतका खदम खोला, भलुवा लोहन्द्रा खोला र मुगुखोलाबाट नदीजन्य स्रोत उत्खनन् तथा बिक्री गर्न आह्वान गरिएको ठेक्का अघिल्लो वर्षको भन्दा सस्तोमा लागेको हो ।

जिल्ला समन्वय समिति मोरङले खदम खोलाको प्राकृतिक स्वरुप बिग्रिएको र विगतमै अधिक उत्खनन् भइसकेको भन्दै ठेक्का नलगाउन आग्रह गरेको थियो । तर, आफ्नो अधिकारक्षेत्र दावी गर्दै गाउँपालिकाले ठेक्का लगाएको हो । तीनवटा खोलाबाट ६ लाख ५० हजार घनमिटर ढुंगागिटी उत्खनन् गरी बिक्री गर्न आह्वान गरिएको ठेक्का आरवन कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले करबाहेक १३ करोड रुपैंयाँमा पाएको छ ।

केराबारी गाउँपालिकाले अघिल्लो वर्ष ४ लाख २० हजार घनमिटर ढुंगागिटी बिक्री गर्ने गरी मूल्य अभिवृद्धि करबाहेक ११ करोडमा ठेक्का लगाएको थियो । गतवर्ष प्रतिघनमिटर २ सय ६१ रुपैयाँ ९० पैसाका दरले ढुंगागिटी बिक्री गरेको गाउँपालिकाले यो वर्ष २ सय रुपैंयाँको दरले बिक्री गर्ने गरी ठेक्का लगाएको हो । यसबाट गाउँपालिकालाई ४ करोडभन्दा बढी नोक्सानी भएको छ ।

गतवर्षभन्दा २ लाख ३० हजार घनमिटर बढी ढुंगागिटी बिक्री हुने भएपनि आम्दानी भने २ करोड मात्र बढेको छ । गत वर्षको मूल्यलाई कायम राख्दा पनि गाउँपालिकाले थप ४ करोड आम्दानी गर्नसक्ने अवस्था थियो । मिलेमतोको आशंका नहुने भन्दै गाउँपालिकले विद्युतीय बोलपत्रमार्फत ठेक्का लगाएकोमा ठेकेदारकै मिलेमतोमा प्रस्ताव आएकोले सस्तोमा ठेक्का लागेको हो ।

ढुंगागिटी उत्खननको लागि तीन वटा कम्पनीहरुले प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये दुई वटा कम्पनीको प्रस्ताव न्यूनतम मूल्यभन्दा कम छ भने ठेक्का पाउने कम्पनीले गाउँपालिकाले तोकेको अंक प्रस्ताव गरेको छ । कानूनी रुपमा कमजोरी नदेखिएपनि ढुंगागिटी ठेक्कामा व्यवसायी र कर्मचारीबीच मिलेमतो देखिने स्थानीय बताउँछन् ।

न्यूनतम् अंक कायम गर्दा अघिल्लो वर्षको बिक्री मूल्यभन्दा कम राख्नु, अघिल्लो वर्षको तुलनामा सस्तोमा ठेक्का लाग्नु र दुई वटा प्रस्ताव न्यूनतम् अंकभन्दा घटी हुनुले कर्मचारीसमेतको मिलेमतोमा ठेकेदारको सिण्डिकेट भएको दावी स्थानीयको छ ।

व्यवसायीहरुले क्रसर उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउने ढुंगागिटीको उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा बृद्धि गरेका छन् । अघिल्लो वर्ष १२ हजार रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएको ढुंगागिटीको मूल्य बढेर १३ हजार रुपैयाँ पुगेको छ । बजारमा उपभोक्ता मूल्य प्रतिघनमिटर १७ सय १४ रुपैयाँबाट बृद्धि भएर १८ सय ५७ रुपैयाँ पुगेको छ । तर, स्थानीय सरकारले प्राप्त गर्ने राजश्व भने ४ करोड कम हुने भएको छ ।

ढुंगागिटी ठेक्का प्रक्रियामा अनियमितता हुन नदिन विद्युतीय बोलपत्र आव्हान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलले बताउनुभयो । प्रक्रियागत रुपमा तीन वटा प्रस्ताव दर्ता भएको र प्रक्रिया अनुसार नै आरवन कन्ट्रक्सनको प्रस्ताव स्वीकृत भएको उहाँको भनाइ छ । अघिल्लो वर्षको तुलनामा बढी परिमाण बिक्री हुँदा आम्दानी नबढेको भन्ने विश्लेषण ठिकै भएपनि कायम गरिएको न्यूनतम रकममै ठेक्का लागेकोले अन्यथा बुझ्न नहुने उहाँको दावी छ ।

निकासी कर उठाउन नपाउँदा घाटा
गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष निकासी करवापत मात्र ५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सरकारले निकासी कर लिन नपाउने गरी नयाँ कानूनी व्यवस्था गरेपछि यो वर्ष केराबारीको आन्तरिक आम्दानी सोझै ५ करोड ८० लाखले घटेको छ । ढुंगागिटी बिक्री मूल्य कम निर्धारण गर्दा ४ करोड बढी घाटा भएको छ । समग्रमा गाउँपालिकालाई १० करोड नोक्सानी भएको छ ।

रोकिएन चोरी निकासी
केराबारी आसपासका खोलाबाट ढुंगागिटी चोरी तस्करी गर्ने क्रम भने अझै रोकिएको छैन । ट्रयाक्टर तथा ट्रिफर व्यवसायीहरुले ढुंगागिटी चोरी गरेर क्रसर उद्योगीलाई बिक्री गर्ने धन्दा केही समयदेखि चलिरहेको छ । ठेक्का लागेको ठाउँमा ठेकेदार कम्पनीले राजश्व संकलन गर्ने गरेको भएपनि ढुवानी व्यवसायीहरुले रातिको समयमा अन्यत्रैबाट उत्खनन् गरेर क्रसरसम्म पु¥याउने गरेका छन् ।

चोरी निकासी रोक्न प्रहरीलाई जानकारी गराएको भएपछि प्रहरीले नियन्त्रणमा चासो नदिएको केरबारीकै एक जनप्रतिनिधिले बताउनुभयो । ‘स्थानीयले चोरी भइरहेको छ भनेर गाडी नम्बरसहित जानकारी दिँदा पनि प्रहरीले चासो दिँदैन,’ उहाँले भन्नुभयो ‘बरु प्रहरीले तपाईको उजुरी आयो जोगिएर काम गर्नु होला भनिदिने रहेछन् ।’

इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक खड्ग राईले चोरी नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताउनुभयो । आफ्नै स्रोतबाट सूचना संकलन गर्ने र स्थानीयबाट प्राप्त हुने सूचना अनुसार तत्काल घटनास्थलमा पुग्ने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।