काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरिएर ल्याइएका १ सय ७५ जना नेपाली कोरोनामुक्त भएको पुष्टि भएको छ ।
नेपाल ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमण देखा नपरेपछि सबैलाई घर पठाइएको छ । उनीहरुको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
गत फागुन ४ गते वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको थियो । उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनको पहिलो दिन गरिएको परीक्षणमा पनि सबैमा नेगेटिभ देखिएको थियो । आइतबार मात्र वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजको पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो । सरकारले मापदण्ड अनुसार परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिए तत्काल संक्रमित व्यक्तिलाई आइसोलेसन गरिने र बाँकीलाई पनि थप १४ दिनको क्वारेन्टाइन म्याद थप्ने बताएको थियो ।