पूर्वाधारमा फड्को मार्दै भिआईपी वडा

विराटनगर । भौगोलिक दृष्टिकोणले वडा नं. ३ उत्तरमा आरती स्ट्रीप्स, दक्षिणमा पोखरिया पानी टयाङ्कीदेखि बरगाछी, पूर्वमा पुरानो पानी ट्याङ्कीदेखि मदननगर र पश्चिममा कोेशी राजमार्गसम्म फैलिएको छ । वडामा करिब ४३ हजार घरपरिवारको बसोबास रहेको छ । बिशेष गरी क्षेत्री र बाहुन जातीको बाहुल्यता बढी रहेको वडामा राजवंशी, राई, लिम्बू र दलित समुदायको समेत बसोबास रहेको छ ।

वडा नं. ३ विराटनगरका १९ वटै वडाको तुलनामा पृथक छ । वडामा २ सय ५० वटाभन्दा त बाटाहरु नै छन् । जसमा करिब ५० देखि ६० वटा बाटाहरु अझै पनि निर्माणको प्रक्रियामा रहेका छन् ।

वडाको विभिन्न भागमा पर्याप्त ऐलानी तथा सरकारी जग्गाहरु छन् । त्यसको सदुपयोग पनि हुन बाँकी नै छ । जग्गा अतिक्रमण गरेर बसेका आम नागरिकहरुसँग वादविवाद र मुद्दामामिलासमेत गर्नुपर्ने परिस्थिति रहेको छ । वडामा विकास निर्माणको कार्यलाई प्रभावकारी ढङगबाट सञ्चालन गर्नु पनि चुनौतीको बिषय रहेको वडाध्यक्ष विनोद कुमार बस्नेतले बताउनुभयो ।

वडामा महानगरपालिकाको ३ करोड ५० लाख रुपैयाँ बजेट परेको छ । पूर्वाधार निर्माणका लागि महानगरले थप गरेको बजेट पनि समावेश गरी करिब ५ करोडको बजेट बनाएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । तर, बजेट पर्याप्त नरहेको उहाँको भनाइ छ ।

वडा कार्यालयको आफ्नै भवन
विराटनगर ३ ले आफ्नो प्रशासनिक भवन निर्माण गरेको छ । विराटनगरको कञ्चनबारी चौकदेखि ठुलोेमिल चौक जाने बाटोमा वडा कार्यालय रहेको छ । ४ वटा कोठा एउटा सभाहलसहित कुल १ करोड ६ लाख रुपैयाँ लागतमा १ कठ्ठा ५ धुर जग्गामा कार्यालय निर्माण भएको हो ।

कार्यालयमा ४ वटा कोठा मात्रै वडाका सम्पूर्ण कामकारबाही कार्यान्वयन तथा सञ्चालनका लागि अपर्याप्त भएकाले माथिल्लो तलामा पनि संरचना निर्माण गर्ने योजना रहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

वडामा राजधानी कबर्ड हल

वडाको मदननगरमा राजधानी कबर्ड हल निर्माण गरिएको छ । पूर्वाधार विकासका साथै खेलकुदलाई समेत मध्यनजर गर्दै वडाले कबर्ड हल निर्माण गरेको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा १ कठ्ठा १७ धुर जग्गामा कबर्ड हल निर्माण गरिएको छ ।

गत भदौमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कवर्डहलको उद्घाटन गरिसक्नुभएको छ । वडाले आगामी दिनमा कबर्ड हलसँगै व्यायामशाला समेत निर्माण गर्ने योजना बनाएको छ । वडाले उक्त सम्पूर्ण संरचना निर्माणका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपभोक्ता समिति गठन गरेर व्यायामशालाको निर्माण सुरु गर्ने तयारी गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकलाई तीर्थाटन

वडाले ज्येष्ठ नागरिकहरुका लागि तीर्थाटनको पनि व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्षमा पनि वडाले ज्येष्ठ नागरिकहरुलाई माईखोला, सताषीधाम, अर्जुनधारा हुँदै पिण्डेश्वरीसम्म लैजाने योजना बनाएको छ । १ दिने तीर्थाटनमा वडा नं. ३ अन्तर्गत मदननगरदेखि दुर्गाचौकसम्मका २ सय ५० जना ज्येष्ठ नागारिकहरुलाई लैजाने तयारी रहेको वडाध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो ।

चैतको दोश्रो सप्ताहमा हुने भनिएको तीर्थाटनका लागि करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको रकम खर्च हुने अनुमान गरिएको वडा कार्यालयले जनाएको छ ।

ज्येष्ठ नागरिकहरुका लागि भवन
विराटनगरमा महानगरपालिका वडा नं. ३ स्थित बिहीबारे हाटमा ज्येष्ठ नागरिकहरुका लागि सेवा समाजको भवन निर्माण गरिएको छ । वडा नं. ३ मा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरुका लागि भवन निर्माण गरिएको हो ।

बहुसङख्यक ज्येष्ठ नागरिकहरु भेला भई छलफल, विचार, विमर्श र विविध कार्यक्रमहरु गर्ने उद्देश्यले भवन निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । ३ कठ्ठा १० धुरमा निर्माण गरिएको २ तले भवनमा ५ वटा कोठा र २ वटा ठुला हलहरु रहेका छन् । महानगरपालिकाको २० लाख र बाँकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवनको कुल लागत भने १ करोड हाराहारीमा रहेको वडा कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको आवास क्षेत्र
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावण मन्त्री जगदीश कुसियैतसहित प्रदेश सरकारका मन्त्रीहरुको आवासक्षेत्र यही वडा हो । त्यसैले यसलाई भीआईपी वडा भनिएको हो । प्रदेशका मन्त्रीहरुको बसोबास रहेको वडा भएको कारणले पनि वडा नं. ३ लाई सांसद विकास कोष र सरकारबाट पर्याप्त बजेट विनियोजन भएको छ । थप बजेटले पनि वडाको विकास विस्तारमा केही हदसम्म सहयोग पुगेको छ ।

पोखरिया मा.वि. नमुना बन्ने
विराटनगर ३ मा रहेका पोखरिया मा.वि.लाई नमुना विद्यालयको रुपमा विकसित गर्न तीनै तहका सरकारको बिशेष चासो छ । महानगरपालिकाले पनि यसलाई नमुना विद्यालयको रुपमा घोषणा गरिसकेको छ । महानगरपालिकाले प्रदान गरेको २५ लाख रुपैयाँको आर्थिक सहयोगले विद्यालयको भौतिक संरचना निर्माण भईरहेका छन् ।

विद्यालयको विकास विस्तारका लागि झण्डै १० करोड रुपैयाँ बजेट आउने निश्चित नै भएको छ । तर, विद्यालय व्यवस्थापनका लागि जग्गाको अभाव रहेको वडा कार्यालयले जनाएको छ । जग्गा व्यवस्थापनको पहल पनि भइरहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

के भन्छन् स्थानीय ?

विनोद परियार

वडा नं. ३ लाई विकास र समृद्धितर्फ डोर्‍याउन हरेक क्षेत्रमा बाटोघाटो सहज पहुँच हुनुपर्छ । यसका साथै वडामा रहेको घोघालाई बाटोलाई परिवर्तन गरेर सञ्चालनमा ल्याउनु पनि उत्तिकै आवश्यक देखिन्छ । त्यस्तै वडा नं. ३ मा पर्यटन प्रवर्द्वनका उद्देश्यले निर्माण हुने भनिएको भ्यु टावरको योेजना कता गयो पत्तो छैन ? अब भ्युटावर निर्माण कार्य पनि यथाशीघ्र अघि सार्नुपर्छ ।

“काम गर्दै नगर्ने अनि ५ बर्षको कार्यकाल सानो भयो भनेर कराउने” यस्तो हुँदैन । यसका अतिरित्त, वडामा फाहोरको समस्या धेरै छ । महानगरपालिका तथा वडा कार्यालयले फोहोर व्यवस्थापनमा ध्यान दिनु पनि उत्तिकै आवश्यक देखिन्छ ।

आइतबार, १८ फागुन, २०७६, बिहानको ०९:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर