सांसदका योजना पूर्वाधार निर्माणमा केन्द्रीत

मठमन्दिरमा लगानी गर्ने प्रवृत्ति घट्यो

विराटनगर । मोरङबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुले छनौट गर्ने योजनाहरु पूर्वाधार निर्माणमा केन्द्रीत गरेका छन् । विगतको तुलनामा यसपटक अनुत्पादक क्षेत्रमा न्यून मात्र लगानी गरेको पाइएको छ ।

सांसदहरुले विगतको तुलनामा बजेटको सही ढंगले सदुपयोग गर्ने प्रयत्न गरेको पाइएको हो । विगतमा मन्दिर, धर्मशाला जस्ता क्षेत्रमा बढी लगानी गर्ने गरेको भन्दै आलोचना भएपछि यस पटक सांसदहरुले योजना छनौट गर्दा त्यसलाई सच्याउने प्रयत्न गरेको देखिएको छ । यद्यपी मठ, मन्दिर, धर्मशाला, घाट आदि क्षेत्रमा बजेट जाने क्रम भने रोकिएको छैन ।

स्थानीय मठ मन्दिर, धर्मशाला, घाट आदिको मर्मत सम्भार, सञ्चालन, सुरक्षाको दायित्व स्थानीय तहको भएपनि सांसदहरुले सहयोग गर्ने परम्परा अझै अन्त्य गरेका छैनन् । बाटोघाटो, बिजुली, खानेपानी, पैनी, शिक्षा, स्वास्थ्य जस्ता धेरै क्षेत्रले बजेट अभावको समस्या झेलिरहेको बेला पूर्वाधार निर्माणमा सांसदहरुले उल्लेख्य लगानी गरेका हुन् ।

मोरङको ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ र ५ का सांसदहरु अमनलाल मोदी र शिवकुमार मण्डलले अरु क्षेत्रको तुलनामा अलि बढी मठमन्दिर, धर्मशाला, घाट, चर्च, दिनाभद्री मन्दिर आदि क्षेत्रमा बजेट विनियोजन गरेको देखिएको छ । यो रकम विगतको तुलनामा थोरै छ भने बजेटको ठूलो हिस्सा पूर्वाधार निर्माणमै केन्द्रित छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्रतिनिधिसभाका सदस्यहरूले योजना छनौट गरिे बजेट विनियोजन गरेका हुन् ।

परामर्श समितिमा प्राप्त परामर्शका आधारमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत मोरङका ६ वटा निर्वाचन क्षेत्रमा १ सय ७३ वटा योजना छानिएका छन् । प्रतिनिधिसभाका सांसदहरूले प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँका दरले खर्च गर्नेगरी योजना बाँडफाँड गरेका हुन् । विगतमा सांसद विकास कोषको नामबाट खर्च हुने कार्यक्रमलाई अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को नामबाट सञ्चालनमा ल्याइएको छ ।

कार्यक्रमको बजेट सडक, कल्भर्ट, पुल, विद्यालय भवन, स्वास्थ्य चौकीका भवन तथा अन्य अत्यावश्यक सेवाका लागि आवश्यक संरचना निर्माणमा अधिकांश सांसदहरुले प्राथमिकता दिएका छन् । क्षेत्र नम्बर ४ ले सबैभन्दा धेरै योजनाहरु छनौट गरेको छ । प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले आफ्नो निर्वाचन क्षेत्रमा ३३ वटा योजना छनौट गरी बजेट विनियोजन गर्नुभएको छ । निर्वाचन क्षेत्र नम्बर २ का सांसद डा. मिनेन्द्र रिजालले सबैभन्दा कम २० वटा योजना छनोट गरेर बजेट विनियोजन गर्नुभएको छ ।

कुन क्षेत्रमा कस्ता योजना ?
मोरङ क्षेत्र नं. १ बाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले २६ वटा योजना छनौट गर्नुभएको छ । खतिवडाले १७ वटा सडक निर्माण, स्तरोन्नति र मर्मतका योजना छनोट गर्नुभएको छ । उहाँको क्षेत्रमा मठमन्दिर, धर्मशाला जस्ता शिर्षकमा बजेट विनियोजन गरिएको छैन ।

चार स्थानीय तह रहेको १ नम्बर निर्वाचन क्षेत्रमा जनही १ करोड ४९ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी लेटाङ्ग नगरपालिकामा योजना छनौट छ । लेटाङ्गमा ८ वटा योजना छनौट गरि बजेट छुट्याएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं. २ मा डा. मिनेन्द्र रिजालले २० वटा योजना छनौट गर्नुभएको छ । उहाँले पनि सबै योजना पूर्वाधार निर्माणमै केन्द्रीत गर्नुभएको छ । उहाँले छनोट गर्नुभएको २० मध्ये ९ वटा सडक सम्बन्धी रहेको छ भने ५ वटा स्थानीय तह रहेको निर्वाचन क्षेत्रमा सुनवर्षी नगरपालिमा सबैभन्दा बढी योजना छानिएका छन् । सुनवर्षीमा ८ योजना छनौट गरिएको छ । सो निर्वाचन क्षेत्रमा ९ वटा सडक निर्माण सम्बन्धी योजनामा बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको योजनामध्ये पथरीशनिश्चरे नपा ६ स्थित गोलाबारी पश्चिम कुडामरिया बक्राहा खोलाको पूल निर्माणमा ४० लाख बजेट छ ।

यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले २९ वटा योजना छनौट गर्नुभएको छ । छनौटमध्ये सडक निर्माण सम्बन्धी ७ वटा योजना छन् । यस्तै विद्यालयको भवन निर्माण, धर्मशाला निर्माणको योजनामा पनि बजेट विनियोजना गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी बेलबारीमा योजना परेका छन् । बेलबारीका ९ वटा योजना छानिएका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले ३३ वटा योजना छनौट गर्नुभएको छ । मोदीले मन्दिरको सामुदायिक भवन निर्माणमा पनि बजेट विनियोजन गर्नुभएको छ । ग्रामथान १ स्थित महादेव मन्दिर सामुदायिक भवन निर्माणमा १० लाख रुपैयाँ, विभिन्न समुदायको भवन निर्माणमा २० वटा योजना छनौट गरिएको छ । पूर्वाधार निर्माणका बहुसंख्यक योजनामा उहाँले प्रयाप्त बजेट विनियोजन गर्नुभएको छ ।

यस्तै ५ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचत भएका संसद शिवकुमार मण्डलले ३० वटा योजना छनौट गरि बजेट विनियोजन गर्नुभएको छ । मण्डलले यस निर्वाचन क्षेत्रमा मन्दिरको भान्साघर निर्माणमा पनि समावेश छ । जहदा गाउँपालिका १ स्थित नेपाल सन्तमन्त संघको मन्दिरको भान्सा निर्माणमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस निर्वाचन क्षेत्रमा चार वटा मन्दिर निर्माणमा ४० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं. ६ का सांसद लालबावु पण्डितले २८ वटा योजना छनौट गरि बजेट विनियोजन गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा १० वटा सडक निर्माणका योजनाहरु छन् । पण्डितले विराटनगर ६ स्थित सरोचिया शैलेस मन्दिर भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । यस्तै बखरी प्रहरी चौकीको भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आइतबार, १८ फागुन, २०७६, बिहानको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर