विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेशसभा भवन विराटनगरबाट सार्नका लागि नयाँ भवन नबनाएको आशंका गर्दै स्पष्ट गर्न सरकारसँग माग गरेको छ ।
प्रदेशसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशसभा सार्न खोजेको हो भनि सरकारलाई प्रश्न गर्नुभयो ।
प्रदेशसभाको अहिलेको सभाहल उपयोगी नभएको र सुविधा सम्पन्न सभाहल बनाउने प्रक्रिया अघि नबढाएकोले विराटनगरबाट प्रदेशसभा सार्न लागिएको आशंका बढेको कोइरालाको भनाइ छ । ‘यो सभाहल युग सुहाउँदो छैन, कमसेकम माननीय ज्यूहरुले आफ्नै ठाउँको माइकबाट कुरा राख्न सक्ने गरी सभाहल बन्नुपर्छ,’ नेता कोइरालाले भन्नुभयो ‘के यो पार्लियामेन्ट विराटनगरमा रहँदैन ? हैन भने किन स्थायी किसिमको हल बनाउँदैनौं ?’
प्रदेश १ को राजधानी विराटनगरमा रहने र संरचना वृहद विराट विकास क्षेत्र भित्र रहने भन्ने द्विअर्थी ऐन पारित भएकोले त्यसको टुंगो गर्नुपर्नेमा कोइरालाले जोड दिनुभयो । प्रदेशको नामाकरण प्रक्रिया पनि सुरु गर्न माग गर्दै उहाँले यसै अधिवेशनबाट टुंगो लगाउनुपर्ने बताउनुभयो । पहिचान भेटिने द्वन्द्व मेटिने साझा पहिचानको नाम राख्नुपर्नेमा जोड दिँदै उहाँँले विगतमा पहिचानको विषय उठाएर आन्दोलन गर्ने र आन्दोलन निष्कर्शमा पुगेपछि पहिचानबाट भाग्ने काम भएको उहाँको आरोप लगाउनुभयो । अरु नाम राख्न नसके पूर्वाञ्चल वा १ नम्बर प्रदेश राख्न उहाँको सुझाब थियो ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले ७० वटा एम्बुलेन्स र दमकल खरिद गरेर वितरण गर्ने तयारी गरेको भन्दै कोइरालाले त्यसलाई पारदर्शी बनाउन पनि आग्रह गर्नुभएको छ ।