धरान । सुनसरीको धरानमा जारी २२ आंैं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिमा लिग च्याम्पियन मच्छिन्द्र क्लब काठमाडौंलाई पाखा लगाउँदै नेपाल पुलिस क्लबले फाइनलको यात्रा तय गरेको छ ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा सडन डेथमा मच्छिन्द्रलाई पराजित गर्दैै पुलिसले शनिबारको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग भेट पक्का गरेको हो ।
धरान १६ स्थित धरान रंगशालामा भएको खेलको निर्धारित अबधि गोलरहित बराबरी भएपछि सडन डेथमा मच्छिन्द्रलाई ५–४ ले हराउँदै पुलिस फाइनलमा पुगेको हो । टाइब्रेकरमा पनि दुबै टोलीले ४–४ गोल गरेका थिए । मछिन्द्रबाट रञ्जित धिमाल, विमल घर्ती मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गरे भने विशाल राई बिको प्रहार पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले रोके । यस्तै, पुलिसबाट पनि भोला सिलवाल, पदम भटराई, तीर्थ राना मगर र जुमानु राईले गोल गरे भने सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेका थिए ।
सडन डेथमा भने कपिल ढकालले निर्णायक गोल गर्दा मछिन्द्रका कप्तान विराज महर्जन गोल गर्न चुकेपछि पुलिस बुढासुब्बाको फाइनल प्रवेश गर्न सफल भयो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले नगद १५ हजार पाए भने वेष्ट गोलको नगद ५ हजारको पुरस्कार मछिन्द्रका रेजिन धिमालले पाएका छन् ।
यसअघि मच्छिन्द्र क्लबले क्वाटर फाइनलमा भारतको सण्डे फुटबल क्लबलाई ६–१ को सानदार जीत निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाल पुलिसले मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो
यसअधि मनाङ मस्र्याङदी क्लव सुनसरीको धरानमा जारी २२ औं बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । बुधबार धरान रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा भारतको युनाईटेड कर्साङ फुटवल क्लवलाई २–० ले पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो ।
फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा २ विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।