सेटिङमै ढुंगागिटी तस्करी भइरहेको आरोप

विराटनगर । उत्तरी मोरङको चुरे क्षेत्रबाट ढुंगागिटीको अवैध चोरी तस्करी भइरहेको र त्यसमा प्रहरीकै मिलेमतो रहेको भन्दै प्रदेशसभा बैठकमा सरकारमाथि प्रश्न उठेको छ । प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले ढुंगागिटीको अवैध चोरी तस्करीमा प्रहरीको सेटिङ रहेको आरोप लगाउनुभएको हो ।

आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा घिमिरेले ढुंगागिटी तथा वनस्रोतको व्यापक दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘उत्तरी मोरङको चुरे क्षेत्रबाट ढुंगागिटी तस्करी भइरहेको छ र त्यसमा प्रहरीसँग सेटिङ् छ तर म यो विषयमा आज बोल्दिन,’ उहाँले भन्नुभयो ‘वैज्ञानिक वन व्यवस्थापनको नाममा जङ्गल विनास भएको छ त्यस विषयमा पनि म आज बोल्दिन ।’ उहाँले किसानलाई दिने कृषि अनुदानमा पनि व्यापक दुरुपयोग भएको र सेटिङ मिलाएर अनुदान बाड्ने गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभा सदस्य घिमिरेले उत्तरी मोरङमा असुरक्षाको अवस्था रहेको र सरकारले सुरक्षा प्रत्याभूतिका लागि गम्भीर नभएको भन्दै आलोचना गर्नुभएको छ । स्थानीय तहको वडा कार्यालयमा बम विष्फोट हुँदा जनताको काम प्रभावित बनेको उहाँले बताउनुभयो । घिमिरेले विकास निर्माणमा प्रयोग भएको स्काभेटरमा आगजनी गराउने, रिपिटर टावरमा विष्फोट गराउने जस्ता घटनाले सुरक्षा अवस्था कमजोर बनेको बताउनुभयो ।

मोरङको उत्तरी पहाडी चार वटा पूर्व गाउँपालिकामा सञ्चार विच्छेद भएको भन्दै सरकारको घिमिरेले ध्नाकर्षण गराउनुभएको छ । केराबारी २ स्थित सिंहदेवी र लेटाङ ७ स्थित वारंगीमा रहेको एनसेलको टावरमा अज्ञात समूहले बिष्फोट र आगजनी गरेपछि एक महिनादेखि वारंगी, भोगटेनी, पाटीगाउँ र सिंहदेवीका अधिकांश क्षेत्र सञ्चारबाट टुटेको उहाँको भनाइ छ ।

किसानचोक टाँडी रमितेखोला जोड्ने बहुवर्षीय सडक ठेक्का लागेपछि द्रुतगतिका साथ काम सुरु भएकोमा अहिले अवरुद्ध भएको घिमिरेले बताउनुभयो । सडक निर्माणमा प्रयोग भएको तीन वटा स्काभेटरमा आगजनी भएपछि सडक निर्माणको काम प्रभावित भएको उहाँले बताउनुभयो ।

मङ्गलबार, १३ फागुन, २०७६, बिहानको १०:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर