विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा सुशासन, नागरिकमैत्री सेवा प्रवाह र सङ्गठन सुदृढीकरणका लागि २८ बुँदे ’कोशी संकल्प’ सार्वजनिक गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको दुई दिने परामर्श कार्यशालाको समापन गर्दै पार्टीले घोषणापत्र जारी गरेको हो ।
‘कोशी संकल्प’ मा विशेष गरी स्थानीय सरकारलाई उत्तरदायी बनाउने र पार्टी तथा जनप्रतिनिधिबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयलाई उच्च प्राथमिकता दिइएको छ । कांग्रेसले ‘लाइन होइन अनलाइन’ र ‘घर–आँगनमा सेवा’ को अवधारणामा आधारित रहेर जनतालाई सेवा प्रवाह गर्ने घोषणा गरेको छ । यसअन्तर्गत जन्मदर्ता, स्वास्थ्य बीमा र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच नागरिकको घरदैलोमै पु¥याउने प्रतिबद्धता जनाइएको छ । यस्तै, वित्तीय अनुशासन कायम गर्न ‘शून्य बेरुजु स्थानीय तह’ निर्माण गर्ने र असार १० भित्र अनिवार्य बजेट ल्याउने कुरालाई कडाइका साथ पालना गर्ने संकल्प गरिएको छ ।
विकासका रणनीतिक योजनाहरूमा कोशी राजमार्ग (जोगबनी–किमाथाङ्का) लाई चाँडो सम्पन्न गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने र विराटनगर–इटहरी कोरिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा सञ्चालन गर्ने विषय समेटिएका छन् । पर्यटनतर्फ वराहक्षेत्र, पाथीभरा र हलेसीलाई जोडेर ’आध्यात्मिक पर्यटन पथ’ निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सामाजिक सुरक्षाका क्षेत्रमा कांग्रेसले ‘कोखदेखि शोकसम्म’ को एकीकृत सामाजिक सुरक्षा कार्यक्रम र महिलाको सीपलाई उद्यममा बदल्न ‘उद्यमी आमा’ कार्यक्रम अघि सारेको छ । यस्तै, प्रदेशको नामाकरणपछि उत्पन्न भएका असन्तुष्टि र भावनाहरूलाई सर्वपक्षीय खुला संवादमार्फत सम्बोधन गर्ने प्रतिबद्धता समेत कांग्रेसले जनाएको छ ।
पार्टी संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’ लाई तीव्रता दिने र जनप्रतिनिधि तथा पार्टीबीच हरेक महिना नियमित संवाद गर्ने संयन्त्र बनाउने संकल्प गरिएको छ । कार्यशालामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, सह–महामन्त्री डा. डिला संग्रौला लगायतका शीर्ष नेताहरूले कांग्रेसले नेतृत्व गरेका स्थानीय तहलाई सुशासनको नमुना बनाउन निर्देशन दिएका थिए ।
कोशी प्रदेशका ६ वटा विषयगत समूहमा गरिएको गहन छलफलपछि जारी गरिएको यो संकल्पले कोशीको पहिचान, समुन्नति र नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेको छ । यस कार्यशालामा कोशी प्रदेशका सबै जिल्लाका जनप्रतिनिधि र पार्टी नेतृत्वको ऐतिहासिक सहभागिता रहेको थियो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।