लोड हुँदैछ...

मेनु

भदौ २४ घटनाको निष्पक्ष छानबिन गर्न गगन थापाको माग

भदौ २४ घटनाको निष्पक्ष छानबिन गर्न गगन थापाको माग

विराटनगर । गगन थापा ले भदौ २४ गते भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । उनले सरकारले घटनाको वास्तविकता ढाकछोप गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ अझै बाँकी रहेको भन्दै त्यसबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए ।

उनले भदौ २३ गते भएको घटनाको अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको तथा त्यसमा नेपाली कांग्रेस को समर्थन रहेको स्पष्ट पारे । तर, त्यसको भोलिपल्ट भएको हिंसा, आगजनी र मानवीय क्षतिको गम्भीर रूपमा छानबिन हुनुपर्ने उनको भनाइ थियो ।

‘भदौ २३ गते अप्रिय घटना भयो, त्यसमा कारबाही प्रक्रिया अघि बढेको छ, यसमा कांग्रेसको समर्थन छ । तर, २४ गते कोइराला निवासदेखि चाक्सीबारीसम्म र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म क्षति भएको छ, थुप्रै तन्नेरी र प्रहरी मारिएका छन्,’ थापाले भने, ‘सरकारसँग फेरि माग गर्दछु, भदौ २४ को घटनाको छानबिन गर्न न्यायिक आयोग बनाइयोस् ।’

उनले अहिले विभिन्न पक्षले घटनालाई दबाउन र वास्तविकता बाहिर आउन नदिन खोजिरहेको दाबी गरे । ‘यो विषयलाई ढाकछोप गर्ने प्रयास भइरहेको छ, तर त्यो स्वीकार्य हुँदैन,’ उनले भने ।

फरक प्रसंगमा थापाले राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदन जानीजानी सार्वजनिक नगरिएको गम्भीर आरोप लगाए । प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाब दिइएको दाबी गर्दै उनले तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे ।

‘मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाइएको छ । यदि हाम्रो कुरा गलत हो भने तत्काल सार्वजनिक गरियोस्,’ थापाले भने ।

उनले मानव अधिकारसँग सम्बन्धित संवेदनशील विषयमा प्रतिवेदन सार्वजनिक नगर्नु लोकतान्त्रिक मूल्य र जवाफदेहिताविपरीत भएको टिप्पणी गर्दै सत्यतथ्य लुकाउने कुनै पनि प्रयासले राज्यप्रतिको जनविश्वास कमजोर बनाउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।