लोड हुँदैछ...

मेनु

कोशी सरकारको नेतृत्व अब कांग्रेसले गर्ने विश्वप्रकाश शर्माको दावी

कोशी सरकारको नेतृत्व अब कांग्रेसले गर्ने विश्वप्रकाश शर्माको दावी

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व फेरबदलको विषयमा छलफल चलिरहेका बेला शर्माले यस्तो दावी गरेका हुन् ।

सुनसरीको लौकहीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले कोशी प्रदेश सरकार अब कांग्रेस नेतृत्वमा जाने दाबी गरे । ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडै गर्नेछ,’ उनले भने, ‘अहिले यसबारेमा धेरै बोल्न चाहन्नँ, तर अब कोशी प्रदेशको नेतृत्व कांग्रेसले गर्नेछ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

अहिले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस चार मन्त्रालयसहित सहभागी छ । सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कुनै पनि प्रदेशमा स्पष्ट बहुमत नहुँदा दलहरूबीच आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार गठबन्धन सरकार सञ्चालन हुँदै आएका छन् ।

प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्न कांग्रेसले उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो । त्यसक्रममा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक–पटक संवाद गरिसकेको जनाइएको छ ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच प्रदेश सरकारको नेतृत्व फेरबदलका विषयमा भइरहेको छलफल कोशी प्रदेशमै आएर अड्किएको नेताहरूको भनाइ छ । कोशीको मुख्यमन्त्री पदमा दुवै दलले दाबी नछाडेपछि सहमति जुट्न नसकेको बताइन्छ । एमाले अध्यक्ष ओलीले आफ्नो गृहप्रदेश भन्दै नेतृत्व छाड्न नमानेको चर्र्चाबीच शर्माले काँग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।

सरकारबारे कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा लामो छलफल भएको थियो । छलफलमा कोशी प्रदेश सरकारको नेतृत्व मुख्य एजेण्डा बनेको बताइएको छ ।

शर्माले प्रदेशमा नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिने पनि बताएका छन् । उनले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको अभ्यासलाई कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै कोशीको नेतृत्व कांग्रेसलाई दिनुपर्ने प्रस्ताव एमालेसमक्ष राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।