लोड हुँदैछ...

मेनु

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

यसअघि जेठ १ गते नै विश्वासको मत लिने कार्यसूची तय गरिएको भए पनि सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र जनता समाजवादी पार्टी (जसपा)नेपालको अनिर्णयका कारण उक्त प्रक्रिया स्थगित भएको थियो ।

विश्वासको मत लिनुअघि मधेश प्रदेशको सत्ता समीकरणमा नाटकीय फेरबदल आएको छ । केन्द्रको फेरिएको समीकरणअनुसार मधेशमा पनि जसपा नेपाल सरकारबाट बाहिरिएको छ भने नेकपा ९एमाले० सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री यादवले सत्ता जोगाउने कसरतस्वरूप जसपा नेपालका तीन मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् । जसपा नेपाललाई सरकारबाट बाहिर राख्दै मुख्यमन्त्रीले एमालेलाई सरकारमा भित्र्याएका हुन् । सोही क्रममा उनले एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरिसकेका छन् ।

नयाँ समीकरण बनेसँगै मुख्यमन्त्री यादवले आज सहजै विश्वासको मत पाउने अनुमान गरिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको गणितीय अवस्था र नयाँ गठबन्धनका कारण आजको मतदानलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।