सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसारभर नै पुराना राजनीतिक दलहरू संकटमा रहेको बताएका छन् । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
सभापति थापाले पुराना पार्टीहरू आफ्नै कमजोरीले मात्र नभई बदलिँदो सूचना प्रविधि र सामाजिक सञ्जालका कारण पनि चुनौतीमा परेको तर्क गरे । ‘अहिले सामाजिक सञ्जालका कारण राजनीतिक भाषा र भाष्य परिवर्तन गरिएको छ,’उनले भने, ‘तथ्य र तथ्याङ्कलाई तोडमोड गरेर स(साना भिडियोमार्फत जनतामा भ्रम पैदा गर्ने काम भइरहेको छ ।’
यद्यपि, अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्रले त्यस्ता भ्रमहरूलाई चिर्ने काम गरेको जिकिर थापाले गरे । उनले अब कांग्रेसले परम्परागत राजनीतिक सञ्चारको ढाँचा बदलेर जनतालाई आफ्ना कुरा बुझाउने नयाँ पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए ।
पार्टीको आन्तरिक सुधारका बारेमा बोल्दै थापाले कांग्रेसले कतिपय पुराना र भड्किला परम्परागत अभ्यासहरू त्याग्नुपर्ने बताए । नेताहरूलाई स्वागत गर्दा गरिने माला र खादाको तामझाम हटाउन तथा कार्यक्रमको ढाँचा बदल्न १ जेठदेखि नै सर्कुलर जारी गरिसकिएको उनले जानकारी दिए ।
‘हामीले कुनै पनि कार्यक्रममा आसनग्रहणको औपचारिकतालाई ३ देखि ५ मिनेटभित्र सक्न आग्रह गरेका छौँ,’ थापाले भने, ‘हामी परम्परागत राजनीतिक ढाँचामा संवाद गर्छौं, तर बाहिर राजनीतिक भाषा परिवर्तन भइसक्यो । त्यसैले अब आफैँ परिवर्तन हुनुको विकल्प छैन ।
कार्यक्रममा उनले पार्टीका कार्यकर्ताहरूलाई जनताका गुनासो सुन्न र नयाँ ढङ्गले संगठन निर्माणमा लाग्न निर्देशनसमेत दिएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।