लोड हुँदैछ...

मेनु

पार्टी, संसद र सरकारबीच समन्वय गर्न रास्वपाले बनायो १० सदस्यीय समिति

पार्टी, संसद र सरकारबीच समन्वय गर्न रास्वपाले बनायो १० सदस्यीय समिति

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसदीय दल र सरकारमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूबीच नीतिगत एकरूपता र संस्थागत समन्वय सुनिश्चित गर्न १० सदस्यीय पार्टी–संसद र सरकार समन्वय समिति गठन गरेको छ ।

पार्टीको केन्द्रीय समितिको २०८३ वैशाख ७ गते बसेको बैठकले विधानको धारा २५ (३) (घ) र धारा ७९ को व्यवस्था बमोजिम रास्वपाको सचिवालय बैठकले समिति निर्माण गर्ने निर्णय गरेको हो । नवगठित समितिको संयोजकमा पार्टीका महामन्त्री भूप देव शाह छन् भने उपसंयोजकको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य सरिताश्री ज्ञवालीलाई दिइएको छ ।

समितिको सदस्य सचिवमा केन्द्रीय सदस्य राम कुमार ढुंगाना र सदस्यहरूमा केन्द्रीय विभाग प्रमुख रवि किरण अधिकारी र केन्द्रीय विभाग सचिव विशाल अधिकारी रहेका छन् । यसैगरी, संसदीय दल र सरकारसँगको समन्वयलाई थप प्रभावकारी बनाउन पाँच जना सांसदहरू अरविन्द साह, करिष्मा कठरिया, मनिष खनाल, रमेश सापकोटा र श्रृष्टि भट्टराईलाई सदस्यका रूपमा चयन गरिएको छ ।

रास्वपाले सुशासन, पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई आफ्नो मूल राजनीतिक प्रतिबद्धता मान्दै आएको सन्दर्भमा यो संयन्त्रले नीति निर्माणदेखि कार्यान्वयनको तहसम्म महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।

यो समितिको मुख्य उद्देश्य पार्टीको नीति, घोषणापत्र र निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धताहरूलाई संघीय शासन प्रणालीअन्तर्गतको नीति निर्माण र सरकारी कार्यान्वयन प्रक्रियासँग प्रभावकारी रूपमा जोड्नु, राजनीतिक दृष्टिकोण, विधायिकी कार्यसम्पादन र कार्यकारी जिम्मेवारीबीच संस्थागत तालमेल कायम गर्दै निर्णय प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रमाणमा आधारित बनाउन समितिले कार्य गर्ने रास्वपाले जनाएको छ । साथै, पार्टीको आधिकारिक सन्देश र सार्वजनिक संवादमा एकरूपता सुनिश्चित गर्दै जनविश्वास र सार्वजनिक उत्तरदायित्व अभिवृद्धि गर्न यो समितिले सेतुको रूपमा काम गर्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।