लोड हुँदैछ...

मेनु

सुकुम्बासी समस्या समाधानका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्न रास्वपाको माग

सुकुम्बासी समस्या समाधानका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्न रास्वपाको माग

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकभरको अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि तत्काल अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ ।

पार्टी सचिवालयको आज बसेको बैठकले वास्तविक सुकुम्बासीहरूको समस्या दिगो रूपमा समाधान गर्न यस्तो संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आफ्नो चुनावी वाचापत्रको बुँदा नं. ८२ लाई स्मरण गर्दै असुरक्षित रूपमा बस्न बाध्य नागरिकहरूको सुरक्षा आफ्नो प्राथमिकता रहेको जनाएको छ । बैठकले प्राधिकरणको प्रतिवेदन नआउन्जेलसम्म असुरक्षित क्षेत्रमा रहेका बाहेक अन्य सुकुम्बासी बस्तीहरूमा कुनै पनि कारबाही अगाडि नबढाउन सरकारलाई आग्रह गरेको छ । साथै, संरचनाहरू भत्काइरहेका स्थानीय सरकारहरूलाई पनि सोही मर्म अनुरूप व्यवस्थापन गर्न रास्वपाले अनुरोध गरेको छ ।

रास्वपाले आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया अहिल्यैदेखि सुरु गरेको छ । बैठकले ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गर्दै यसलाई कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरेको छ ।

यसैगरी, पार्टीको पहिलो महाधिवेशन सम्पन्न गर्नका लागि ‘महाधिवेशन कार्यविधि–२०८३’ समेत पारित गरिएको रास्वपाले जनाएको छ । यस्तै सचिवालय बैठकले पार्टीको संसदीय दलको संशोधित विधानलाई अनुमोदन गरेको छ । साङ्गठनिक सुदृढीकरणका क्रममा बागमती प्रदेश समितिको सिफारिसमा रसुवा जिल्ला समितिलाई विघटन गर्ने निर्णय पनि गरिएको छ । अब नयाँ प्रक्रियामार्फत रसुवामा नयाँ समिति गठन गरिने प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।