लोड हुँदैछ...

मेनु

हिन्द महासागरमा डुंगा पल्टिँदा २५० जना बेपत्ता

हिन्द महासागरमा डुंगा पल्टिँदा २५० जना बेपत्ता

काठमाडौँ । उत्तरपूर्वी हिन्द महासागरस्थित अन्डमान सागरमा एउटा मालवाहक ट्रलर (माछा मार्ने डुंगा) पल्टिँदा बालबालिकासहित कम्तीमा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी तथा आप्रवासन निकायका अनुसार बेपत्ता हुनेहरूमा रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिकहरू रहेका छन् ।

समाचार एजेन्सीहरूका अनुसार बंगलादेशबाट मलेसियातर्फ जाँदै गरेको उक्त डुंगा तीव्र हावा, समुद्री छाल र अत्यधिक भिडभाडका कारण दुर्घटनामा परेको हो । दुर्घटनाको यकिन समय अझै स्पष्ट नभए पनि अप्रिल ९ मा बंगलादेश तटरक्षकको एउटा जहाजले नौ जनालाई जीवितै उद्धार गरेको थियो ।

दुर्घटनाबाट बँच्न सफल ४० वर्षीय रफिकुल इस्लामले दिएको जानकारी अनुसार उद्धार हुनुअघि उनीहरू करिब ३६ घण्टासम्म समुद्रमा तैरिएका थिए । मलेसियामा रोजगारी पाउने आशामा यात्रा तय गरेका इस्लामले बताएअनुसार डुंगा पल्टिएपछि तेल पोखिएको र त्यसले गर्दा समुद्रमा पौडिरहेकाहरूको शरीर समेत जलेको थियो ।

सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक सैन्य कारबाहीपछि ठुलो संख्यामा अल्पसंख्यक रोहिंग्या समुदायका मानिसहरू भागेर बंगलादेश पुगेका थिए । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यानमारले रोहिंग्या मुस्लिमहरूलाई नागरिकता दिन अस्वीकार गर्दै आएको छ ।

बंगलादेशका शरणार्थी शिविरहरूको प्रतिकूल परिस्थिति र भविष्यको अन्योलका कारण धेरै रोहिंग्याहरूले सुरक्षित आश्रयस्थल र कामको खोजीमा मलेसिया पुग्न ज्यानकै बाजी लगाएर यस्तो जोखिमपूर्ण समुद्री यात्रा गर्ने गरेका छन् ।

बेपत्ता भएका २५० जनाको अवस्था अझै अज्ञात रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । हाल तटरक्षक र सम्बन्धित निकायहरूले खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds