लोड हुँदैछ...

मेनु

सांसदलाई स्वकीय सचिव दिने निर्णयको हर्क साम्पाङद्वारा विरोध, ५ वर्षमा झन्डै ५० करोड भार पर्ने दाबी

सांसदलाई स्वकीय सचिव दिने निर्णयको हर्क साम्पाङद्वारा विरोध, ५ वर्षमा झन्डै ५० करोड भार पर्ने दाबी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले सांसदहरूले स्वकीय सचिव राख्न पाउने भनिएको निर्णयको कडा विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको ढुकुटीमा अनावश्यक व्ययभार थपिने भन्दै यसको विपक्षमा उभिएका हुन् ।

सांसद साम्पाङले सांसदका लागि स्वकीय सचिव राख्दा हुने खर्चको हिसाब समेत प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म । ३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार, वर्षको ९ करोड ९० लाख र पाँच वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ ।’

यसअघि खर्च कटौती गर्ने उद्देश्यले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरेको थियो । तर, अहिले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले पुनः सांसदहरूलाई स्वकीय सचिव उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाएपछि साम्पाङले यसको विरोध गरेका हुन् ।

आफूलाई प्रतिपक्षी दलको नेता मात्र नभएर असल मार्गदर्शकको रूपमा चित्रण गर्दै उनले सरकारलाई चेतावनी समेत दिएका छन् । उनले भनेका छन्, सरकारले मेरो सुझाव गम्भीर भएर लिँदा सफलताको बाटो हुँदै अघि बढ्नेछ, नलिँदा असफलता र अपमान मात्रै भोग्नुपर्नेछ ।’

साम्पाङले सरकारले आफ्नो सुझावलाई गम्भीरतापूर्वक लिए मात्र सफलता प्राप्त हुने दाबी गर्दै अन्यथा सरकारले नकारात्मक परिणाम भोग्नुपर्ने बताएका छन् । उनले जनताको करबाट संकलित रकम विलासिता र अनावश्यक सुविधामा खर्च गर्नुको साटो उत्पादन र विकासमा लगाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds