विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा आफ्नो पार्टीकी सांसद रूबीकुमारी ठाकुरलाई बहिनी भनेकोप्रति आपत्ति जनाए । उनले उक्त शब्द खारेज गर्नुपर्ने माग समेत गरे ।
‘हाम्रा कतिपय पूर्ववक्ता माननीयज्यूहरूले हाम्रो माननीय रुबी बहिनी पनि भनेर यहाँनेर सम्बोधन गरेको देखेँ । त्यो शब्दलाई खारेज गरियोस्,’ उनले भने, ‘यहाँ कोही कसैका बहिनी, नातिनी, बाजे, मामा भान्जा भन्ने हिसाबले बोल्न हुँदैन । हामी यहाँ सबैजना एकले अर्को सम्मान गर्नुपर्छ ।’
तर, हर्क सम्पाङले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्टाटस लेख्दै रुविकुमारी ठाकुरलाई ‘नानी’ र ‘तिमी’ भनेर सम्बोधन गरेका छन् । ‘बधाई दिने छैन म तिमीलाई । किनकी असल काम गरेर देखाए पछि मात्रै म बधाई दिने गर्छु ! कार्यकाल भरि पार्टीकी रहने छैनौं अब ! तिमी पूरै देशकी बन्नेछौ ! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु ! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ ! अल द बेष्ट नानी !,’ उनको स्टाटसमा उल्लेख छ ।
यही विषयमा आलोचना गर्दै साहित्यकार सीमा आभासले साम्पाङले स्त्रीलिङ्गी माननीयहरूलाई निगाहा गरिदिएझैँ बोलेको भन्दै टिप्पणी गरेकी छिन् । ‘माननीय रुबी कुमारी ठाकुर जो उपसभामुखमा चयन हुने प्रक्रियामा हुुनुहन्छ । उहाँलाई तिमी र नानी सम्बोधन छ । परिवर्तनका जति कुरा गरे पनि स्त्री समुदायप्रति मर्दहरूको दृष्टिकोण र व्यवहारमा आमूल परिवर्तन हुन बाँकी छ । पुलिङ्गी माननीयहरूले स्त्रीलिङ्गी माननीयलाई तिमी, नानी भन्ने होइन । माननीय, तपाईं नै भन्ने हो,’ उनले भनेकी छिन्, ‘सार्वजनिक रूपमा कुनै पनि पुलिङ्गी माननीयलाई भाइ, तिमी, माइती, बाजे इत्यादि भनिँदैन । तर, स्त्रीलिङ्गी माननीयहरूलाई निगाहा गरिदिएझैँ बोल्छन् । एउटा माननीयलाई अर्को माननीयले छोरी, बहिनीलाई झैँ तिमी, नानी भन्नु अशोभनीय र मर्यादाहीन सम्बोधन हो । पुलिङ्गी माननीयहरूले आफ्नो बोलीदेखि नै परिवर्तन गर्नुहोस् है । अनि व्यवहार र सोचमा परिवर्तन ल्याउनु त छँदै छ ।’ उता, ठाकुर भने शुक्रबार नै राप्रपाबाहेक सबै दलको समर्थनमा उपसभामुखमा निर्वाचित भइसकेकी छिन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।