काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११स्१५ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ।
नेपाली कांग्रेसका नेता समेत रहनुभएका केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० गरी कुल २ सय ७५ सदस्यहरू निर्वाचित भएका छन्।
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपतिबाट शपथ लिएपछि ज्येष्ठ सदस्य केसीले अन्य नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई शपथ गराउनुहुनेछ। अन्य सांसदहरूको शपथ ग्रहण कार्यक्रम यही चैत १२ गते बिहीबारका लागि तय गरिएको छ।
ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ गराएपछि मात्र प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने र नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।