विराटनगर । कोशी प्रदेशसभाको मंगलबारको बैठकमा नेकपा (एमाले)की सांसद तारादेवी ढकालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको योगदानको चर्चा गर्दै हालैको पारिवारिक शोक र राजनीतिक परिस्थितिलाई ग्रह–नक्षत्रसँग जोडेर ब्याख्या गरेकी छिन्।
शून्य समयमा बोल्दै सांसद ढकालले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै ओली एक असाधारण र जुझारु नेता भएको बताइन्। उनले ओलीको बचाउ गर्दै भनिन्, ‘केपी शर्मा ओलीले देश र प्रदेशको विकासका लागि नगरेको काम केही छैन, इतिहासमा उहाँको नाम स्वर्ण अक्षरले कोरिनेछ। तर कहिलेकाहीँ ग्रह र नक्षत्रहरू कमजोर भएपछि दशा लाग्दो रहेछ। सूर्य र चन्द्रमालाई जस्तो शक्तिशाली पिण्डलाई त ग्रहण लाग्छ भने मान्छेलाई नलाग्ने कुरै भएन। अहिले नक्षत्र कमजोर भएकै कारण उहाँले पितृशोक बेहोर्नुपर्यो।’उनले ओलीलाई गाली गर्नेहरूले पनि भित्रैदेखि मनमा चिसो राखेर मात्र गाली गर्ने गरेको दाबी गरिन्।
सम्बोधनका क्रममा सांसद ढकालले इतिहासका ठूला नेताहरू बिपी कोइराला, मनमोहन अधिकारी र सूर्यबहादुर थापाको स्मरण गर्दै कोशी प्रदेश विज्ञ उत्पादन गर्ने थलो भएको बताइन्। तर, वर्तमान समयमा आफ्नै नेतृत्वको सरकारले सांसदका स्वकीय सचिवहरूको सुविधा कटौती गरेकोमा उनले कडा आक्रोश व्यक्त गरिन्। ‘हाम्रा स्वकीयहरूको सुविधा कुन कानुनले र कसले काटेको होरु यसको जवाफ सरकारले दिनुपर्छ। बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई पहिरो छ,’ उनले चेतावनी दिँदै भनिन्,’सुविधा खोसिएपछि अब स्वकीयहरूले सरकार वा सांसदविरुद्ध एकमुष्ट मुद्दा हाल्ने तयारी गरेका छन्, यसले गम्भीर संकट निम्त्याउन सक्छ।
सांसद ढकालले संसद्प्रति सरकार र मन्त्रीहरू उदासीन भएकोमा पनि प्रश्न उठाइन्। महिना–दुई महिनामा संसद् चल्दा पनि मन्त्री र मुख्यमन्त्रीका कुर्सीहरू खाली हुनुले जनप्रतिनिधिको आवाजको अपमान भएको उनले बताइन्। सत्तापक्षकै सांसद भएर पनि सरकारका कमजोरीमा बोल्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले भनिन्, ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा भाईको शिकार जस्तो भएको छ। तर हामीले कुरा उठाउँदा यहाँ सुन्ने मन्त्रीहरू र मुख्यमन्त्री अनिवार्य उपस्थित हुनुपर्छ। मन्त्री नभएको ठाउँमा हाम्रा कुरा कसले सुन्ने र कसरी कार्यान्वयन हुने’ उनले संसद्मा मन्त्रीहरूको उपस्थितिलाई अनिवार्य बनाउन र स्वकीय सचिवहरूको समस्या तत्काल समाधान गर्न माग गरिन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।