काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणको भरपर्दो सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी सेनाले विशेष सुरक्षा प्रबन्ध मिलाएको हो। सेनाले मतपत्र छपाइ र देशभर ढुवानीको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै अहिले निर्वाचन सामग्रीहरू ७७ जिल्लामा पुर्याइसकेको छ।
निर्वाचनको समयमा सेनाले तेस्रो घेरामा रहेर मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा गर्नेछ। त्यसैगरी कारागार, विमानस्थल र सरकारी कार्यालयलगायत ११६ वटा महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा सेनाले लिएको छ। हवाई गस्ती, शङ्कास्पद वस्तु निष्क्रिय पार्ने र विकट क्षेत्रमा हिउँ पन्छाएर बाटो खुलाउने काममा सेना परिचालित छ।
प्रधानसेनापति अशोकराज सिग्देलले स्वयं फिल्डको निरीक्षण र अनुगमन गरेका छन् । मानवअधिकार र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै एकीकृत सुरक्षा योजनाअनुसार निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सेना प्रतिबद्ध रहेको प्रवक्ता बस्नेतले स्पष्ट पारेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।