लोड हुँदैछ...

मेनु

२०२६ को पहिलो सूर्य ग्रहण आज,नेपाल र भारतमा नदेखिने

२०२६ को पहिलो सूर्य ग्रहण आज,नेपाल र भारतमा नदेखिने

काठमाडौँ । सन् २०२६ को पहिलो सूर्य ग्रहण आज मंगलबार (१७ फेब्रुअरी) लाग्दैछ । बीबीसीका अनुसार यो पूर्ण ग्रहण नभई घेराको रूपमा देखिने एनुलर सूर्य ग्रहण हो, जसमा चन्द्रमाले सूर्यको लगभग ९६ प्रतिशत भाग ढाक्नेछ । चन्द्रमा पृथ्वी र सूर्यको बीचमा पर्ने भए पनि चन्द्रमा सूर्यभन्दा सानो देखिने भएकाले यसले सूर्यलाई पूर्ण रूपमा नढाक्ने र सूर्यको बाहिरी घेरा एउटा चम्किलो औँठीजस्तै देखिने गर्दछ, जसलाई ‘रिङ अफ फायर’ भनिन्छ ।

नासाका अनुसार चन्द्रमा पृथ्वीबाट आफ्नो सबैभन्दा टाढाको बिन्दुमा वा त्यसको नजिक हुँदा यो घटना हुने गर्दछ । यस समयमा चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्दैन र पृथ्वीबाट टाढा भएकाले सानो देखिन्छ । यो खगोलीय घटना तब हुन्छ जब पृथ्वी, सूर्य र चन्द्रमा एउटै सिधा रेखामा हुन्छन् ।

नेपाली समयअनुसार यो सूर्य ग्रहण आज दिउँसो ३ः३९ बजे सुरु हुनेछ र लगभग साढे चार घण्टासम्म अर्थात् साँझ ७ ः५७ बजेसम्म रहनेछ । यद्यपि यो सूर्य ग्रहण नेपाल र भारतका कुनै पनि भू(भागबाट देखिने छैन । यो मुख्यगरी दक्षिण अफ्रिका, अन्टार्कटिका र दक्षिण अमेरिकाका केही भागहरूमा देखिनेछ । त्यसैगरी जिम्बाब्वे, मौरिसस, मोजाम्बिक, तान्जानिया, नामिबिया, चिली र अर्जेन्टिनाबाट पनि यो ग्रहणको दृश्य देख्न सकिनेछ ।

नेपालमा नदेखिए पनि अमेरिकी अन्तरिक्ष एजेन्सी नासा लगायत विभिन्न देशका अन्तरिक्ष एजेन्सीहरूले यसको प्रत्यक्ष प्रसारण गर्ने भएकाले इच्छुकहरूले अनलाइनमार्फत यो खगोलीय दृश्य अवलोकन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।