काठमाडौँ । मध्यरातमा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। प्रसाईंका पछिल्ला अभिव्यक्ति र गतिविधिले समाजमा अराजकता फैलाएको र शान्ति सुरक्षामा चुनौती थपेको निष्कर्ष निकाल्दै प्रहरीले यो कानुनी प्रक्रिया अघि बढाएको हो।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार, प्रसाईंविरुद्ध चलाइने यस कसुरमा अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न कडा कानूनी व्यवस्था छ। प्रचलित कानुन अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रहरीले अदालतको अनुमति लिई अधिकतम २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान प्रक्रिया पूरा गर्न पाउने व्यवस्था रहेको छ।
प्रसाईंलाई पक्राउ गर्नुको मुख्य आधार निर्वाचन आयोगको पत्राचार बनेको छ। आयोगले जिल्ला प्रहरी परिसर भद्रकालीलाई पत्र लेख्दै प्रसाईंका गतिविधिले सार्वजनिक शान्तिमा गम्भीर खलल पुर्याएको उल्लेख गरेको थियो।
काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने, ‘निर्वाचन आयोगले प्रसाईंका अभिव्यक्ति र गतिविधिबाट सार्वजनिक शान्तिमा असर परेको भनी पत्र लेखेको थियो। आयोगले उनलाई बाहिर छाड्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने ठहर्याएपछि हामीले नियन्त्रणमा लिएका हौँ।’
प्रहरीले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि आजै जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ। कार्यालय समय सुरु हुनासाथ म्याद थपका लागि उनलाई अदालत लगिने प्रवक्ता भट्टराईले जानकारी दिए। अदालतले अनुमति दिएपछि प्रहरीले उनीमाथि २५ दिनको समयसीमाभित्र रहेर विस्तृत अनुसन्धान र बयान लिने कार्य अघि बढाउनेछ।
पछिल्लो समय प्रसाईंले विभिन्न सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएका थिए, जसलाई राज्यका निकायहरूले सार्वजनिक व्यवस्थापनमाथिको खतराका रूपमा लिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।