लोड हुँदैछ...

मेनु

झापा ५ मा ओलीको आश्वासन:

भ्यु टावरलाई ‘बिजनेस टावर’ बनाउनेदेखि सुकुम्वासीलाई पुर्जासम्म

भ्यु टावरलाई ‘बिजनेस टावर’ बनाउनेदेखि सुकुम्वासीलाई पुर्जासम्म

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ को लागि चुनावी घोषणा पत्र सार्वजनिक भएको छ । ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षक दिइएको उक्त घोषणा पत्रमा राष्ट्रिय राजनीतिका साथै स्थानीय स्तरका विकास निर्माण र जनताका गुनासा सम्बोधन गर्ने भरपूर प्रयास गरिएको छ ।

विशेष गरी दमकमा निर्मित र हाल विवादको घेरामा रहेको भ्यु टावर र त्यसले सिर्जना गरेको स्थानीय असन्तुष्टिलाई मत्थर पार्न ओलीले विभिन्न आश्वासनका बुँदाहरू अघि सारेका छन् ।

विवादित ‘भ्यु टावर’ अब ‘बिजनेस टावर’

सरकारको झण्डै २ अर्ब रुपैयाँ लगानीमा दमकमा निर्मित भ्यु टावर एक वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन अवस्थामा छ । स्थानीय स्तरमा यसलाई ‘सेतो हात्ती’ को संज्ञा दिँदै, शिक्षा र स्वास्थ्यमा खर्च हुनुपर्ने बजेट अनुत्पादक टावरमा खर्च गरिएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

यही आलोचनालाई चिर्न ओलीले आफ्नो घोषणा पत्रमा यसलाई ‘भ्यु टावर’ नभनी ‘बिजनेस टावर’ को संज्ञा दिएका छन् । घोषणा पत्रमा भनिएको छ, “दमकको बिजनेस टावरलाई सुसञ्चालन गरी यस क्षेत्रको व्यापार र पर्यटन प्रवद्र्धन गर्ने ।” प्रयोगविहीन टावरलाई आर्थिक गतिविधि र पर्यटनसँग जोडेर देखाउँदै विरोधको स्वर दबाउने रणनीति एमालेले लिएको देखिन्छ ।

उठिबासको डरमा रहेकालाई जग्गाधनी पुर्जाको आश्वासन

टावर निर्माणका क्रममा र त्यसको वरपरका क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूले आफ्नो बास उठ्ने डरले विरोध गर्दै आएका छन् । सरकारले प्रयोगहीन संरचना बनाउँदा आफूहरूको थातथलो असुरक्षित भएको भन्दै रुष्ट बनेका सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई फकाउन ओलीले जग्गाधनी पुर्जाको कार्ड फालेका छन् ।

घोषणा पत्रको १८ औं बुँदामा लेखिएको छ, “यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी पूर्जा उपलब्ध गराउने ।” टावरका कारण विस्थापित हुन सक्ने त्रासलाई कम गर्न र मत सुरक्षित गर्न यो बुँदालाई प्राथमिकताका साथ राखिएको बुझ्न सकिन्छ ।

अन्य आश्वासनहरू ?

ओलीको घोषणा पत्रमा दमक, गौरादह र गौरीगञ्जलाई समेटेर विशेष योजनाहरू अघि सारिएका छन् :

  • स्मार्ट सिटी र पूर्वाधार: दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटीको रूपमा विकास गर्ने तथा अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गर्ने ।
  • स्वास्थ्य सेवा: दमक अस्पताललाई स्तरवृद्धि गरी प्रदेश अस्पताल बनाउने र अन्य स्थानीय तहका अस्पतालहरूलाई सुविधासम्पन्न बनाउने ।
  • पर्यटन र सम्पदा: साधुहोलीलाई नमूना पर्यटकीय सिमसारको रूपमा स्थापित गर्ने र आदिवासी रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने ।
  • नदी नियन्त्रण: रतुवा, मावा र कमल जस्ता खोलाहरूमा तटबन्धको कार्य पूरा गरी कटान र डुबान समस्या समाधान गर्ने ।
  • शिक्षा र खेलकुद: सबै सामुदायिक विद्यालयका जीर्ण भवन हटाएर बालमैत्री भवन निर्माण गर्ने र प्राविधिक शिक्षाको अवसर दिलाउने ।

आफ्नो निर्वाचन क्षेत्रमा भ्यु टावरको विषयलाई लिएर रक्षात्मक अवस्थामा पुगेका ओलीले यसपटक विकासका सपना र जग्गाको लालपुर्जालाई मुख्य हतियार बनाएका छन् । २ अर्बको संरचना अलपत्र रहँदा स्थानीयले देखाएको आक्रोश चुनावी नतिजामा कत्तिको हाबी हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।