लोड हुँदैछ...

मेनु

हालसम्म ६० जिल्लाको मतपत्र छपाइको काम सकियो

हालसम्म ६० जिल्लाको मतपत्र छपाइको काम सकियो

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको मतपत्र छपाइ कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।

आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङ सकिएको छ । यसैगरी बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी कूल २५ जिल्लाको काम पूर्ण रूपमा सम्पन्न भएको हो ।

हालसम्म ६० जिल्लाको मतपत्र छपाइको काम सकिएको भए पनि कतिपय जिल्लाको प्याकिङ कार्य भने अझै जारी रहेको आयोगले जनाएको छ । माघ १६ गतेदेखि सुरु भएको प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तर्गत कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने जिम्मेवारी आयोगको छ ।

यसैबीच, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ र रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

आयोगले मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमुना मतपत्रसमेत छपाइ गरी विभिन्न जिल्लाहरूमा पठाइसकेको जानकारी दिएको छ । प्रत्यक्षतर्फ बाँकी रहेका जिल्लाहरूको मतपत्र छपाइ र प्याकिङको काम पनि तीव्र गतिमा भइरहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।