विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्नको लागि निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आज आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समिति को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट कार्यालयमा नै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिए । उनले भने एउटै काम पनि घनचक्कर, जस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त हुनुपर्छ। उनले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गरे । कर्मचारी राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठिक ढंगले बुझ्न नसक्दा पनि समस्या भएको चर्चा गर्दै यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने उहाँले दाबी गरे । उनलेप्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताए ।
उनले भने, ‘कुनै पनि विषयमा प्रदेशमा पटकपटक छलफल हुन्छ र त्यो विषय केन्द्रमा पनि छलफल गरिन्छ हुन्छ भन्नुहुन्छ तर हुँदैन यसले पनि काम गर्न गाह्रो भइरहेको छ। यातायातको अधिकार प्रदेशमा छ तर यहाँको यातायातबाट उठेको जरिमाना केन्द्र सरकारले लैजान्छ । २०७५ सालदेखि यही कुरा उठाइरहेका छौं तर केन्द्रले सुन्दैन ।’
त्यस्तै लाइसेन्स छपाइको अधिकार पनि प्रदेशमा रहेको भए पनि केन्द्रले त्यसलाई पनि सहज रुपले हस्तान्तरण नगरेको उनको भनाइ थियो । बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।