सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ स्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर मंगलबार मृत फेला परेका छन्। आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मृत अवस्थामा भेटिएका हुन्।
मोरङको केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइडमा कार्यरत तामाङको शव उत्तर दक्षिण कोसी राजमार्गको नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तामाङ मंगलबार दिउँसो सडकको नालीमा मृत फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। तामाङको मृत्युको कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।