लोड हुँदैछ...

मेनु

विराटनगरमा एसईई बुस्ट–अप सेमिनार, १२ सयभन्दा बढी विद्यार्थी सहभागी

विराटनगरमा एसईई बुस्ट–अप सेमिनार, १२ सयभन्दा बढी विद्यार्थी सहभागी

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम तयारीमा रहेका विद्यार्थीहरूको आत्मविश्वास बढाउने उद्देश्यले विराटनगरमा आयोजित ‘इन्टेन्सिभ बुस्ट–अप सेमिनार २०८२’ भव्य रूपमा सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) महानगर कार्यसमिति विराटनगरको आयोजनामा उक्त सेमिनार सञ्चालन गरिएको हो ।

विद्यार्थीको चापलाई मध्यनजर गर्दै सेमिनार विराटनगरस्थित महेन्द्र होटल र होटल श्रीकृष्णको सभाहलमा दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । महेन्द्र होटलमा आयोजित कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी प्रमुख अतिथि रहेको थियो भने होटल श्रीकृष्णको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख शालीग्राम दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टिकाराम पुरीले एसईई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई मानसिक तयारी र सही रणनीतिको परीक्षा पनि भएको बताए । ‘धेरै विद्यार्थीमा ज्ञान भए पनि परीक्षाको डर र गलत रणनीतिका कारण अपेक्षित नतिजा आउन सक्दैन,’ उनले भने , ‘यस्ता सेमिनारले विद्यार्थीमा आत्मविश्वास भर्न र परीक्षाको त्रास हटाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।’

अर्का प्रमुख अतिथि शालीग्राम दाहालले योजनाबद्ध अध्ययन र सबै विषयलाई समान महत्त्व दिएमा मात्र उत्कृष्ट नतिजा हासिल गर्न सकिने कुरामा जोड दिए ।

विशेष गरी गणित र विज्ञान विषयमा केन्द्रित सेमिनारमा विराटनगर महानगर क्षेत्रका ४२ संस्थागत विद्यालयका १ हजार २ सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । सेमिनारमा गणित विज्ञ तथा पाठ्यपुस्तक लेखक हुकुमप्रसाद दाहाल र पाठ्यक्रम विकास केन्द्रका विज्ञान विज्ञ डा. चिन्तामणि पन्थीले प्रशिक्षण दिए । उनीहरुले उत्तर लेखन शैली, समय व्यवस्थापन, प्रश्न विश्लेषण र परीक्षामैत्री रणनीतिका बारेमा विद्यार्थीलाई महत्वपूर्ण टिप्सहरू प्रदान गरे ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार परिषद् सदस्य सावित्री पराजुली, केन्द्रीय सदस्य शितला सुब्बा, मोरङ उपाध्यक्ष विष्णु डंगोल, सदस्य इन्द्रकुमार राईसहित विभिन्न पब्लिकेसन्सका प्रतिनिधि र विषयगत शिक्षकहरूको उपस्थिति रहेको थियो ।
प्याब्सन विराटनगरका उपाध्यक्ष एवं तालिम संयोजक अशोक लामाका अनुसार यो सेमिनार केवल सिकाउने माध्यम मात्र नभई विद्यार्थीको मनोबल उच्च बनाउने एउटा विशेष अभियान हो ।

विद्यार्थी र विद्यालयहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा सामाजिक अध्ययन र नेपाली विषयका लागि पनि यस्तै बुस्ट–अप सेमिनार आयोजना गरिने प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।