लोड हुँदैछ...

मेनु

धरानमा कर्मचारीबीच लफडा, नेमप्लेट फालिएपछि कार्यालयमा हंगामा

धरानमा कर्मचारीबीच लफडा, नेमप्लेट फालिएपछि कार्यालयमा हंगामा

धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट नगर प्रमुख पदबाट हर्कराज राई (साम्पाङ)ले राजीनामा दिएर बाहिरिएपछि उपमहानगरपालिकाभित्र कर्मचारीबीच विवाद चर्किएको छ।

सिनियर कर्मचारी भएपनि निवर्तमान नगर प्रमुख साम्पाङको कार्यकालमा जिम्मेवारीविहिन बनाइएकी प्रज्ञादेवी निरौलाले गत शुक्रबार उपमहानगरपालिकामा हंगामा गरेकी थिइन् ।

निरौलाले प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाको नेमप्लेट निकालेर फालिदिएको बताइएको छ। सो क्रममा कार्यालयका सिसामा पनि सामान्य क्षति पुगेको उपमहानगरपालिका स्रोतले जनाएको छ।

घटनापछि कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघा र केही वडाअध्यक्षहरूले निरौलालाई सम्झाइबुझाइ गरेका थिए। तर, त्यसपछि प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईको सरुवासम्बन्धी रमाना पत्र पठाइएपछि फेरि खैलाबैला मच्चिएको स्रोतको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत चौलागाई सो समयमा विदामा रहेका थिए।

यो विवादको पृष्ठभूमि निवर्तमान नगर प्रमुख साम्पाङको कार्यशैलीसँग जोडिएको छ। सामाजिक विकास महाशाखा प्रमुखका रूपमा रहेकी निरौलालाई साम्पाङले नै प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा ल्याएका थिए भने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई शिक्षा तथा खेलकुद महाशाखामा सरुवा गरेका थिए।

संघीय प्रतिनिधिका रूपमा आउने प्रमुख प्रशासकीय अधिकृत धरान आउन नमानेपछि अधिकार प्रत्यायोजनमार्फत उपमहानगरपालिकाकी सबैभन्दा सिनियर कर्मचारी निरौलाले नै केही समय प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन्। पछि मतभेद बढेपछि साम्पाङले निरौलालाई जिम्मेवारीविहिन बनाए ।

प्रक्रिया, नियम र कानुनविपरीत काम गर्न दबाब दिइएको तर आफूले नमानेपछि जिम्मेवारी खोसिएको भन्दै निरौलाले कार्यपालिका बैठकमै साम्पाङको चर्को आलोचना गरेकी थिइन्। त्यसपछि वेदप्रसाद सापकोटालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो।

प्रशासकीय अधिकृत चौलागाईले आफूले घटनाबारे सुनेको मात्र बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।