विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई सम्भावित विभाजनबाट जोगाउनका लागि आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।
बिहीबार मोरङ क्षेत्र नम्बर ६ को सुन्दरहरैँचामा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीको एकता नै अहिलेको मुख्य प्राथमिकता रहेको स्पष्ट पारे ।
कार्यकर्ताहरूलाई सम्बोधन गर्दै कोइरालाले आफू विशेष महाधिवेशनको बाटोमा लागेको भए पार्टी फुट्न सक्ने खतरा रहेको उल्लेख गरे । ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो,’ उनले भने, ‘पार्टी नफुटोस् भनेर नै मैले शान्त र सौम्य पक्ष रोज्दै बीचको बाटो लिएको हुँ।’ उनले विशेष महाधिवेशन पार्टीको एउटा आन्तरिक प्रक्रिया भए पनि अहिलेको परिस्थितिमा पार्टीलाई जोड्नु बढी महत्वपूर्ण रहेको बताए ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर अब सबै नेताहरू चुनावी मैदानमा एकढिक्का भएको उहाँको दाबी थियो। नेता कोइरालाले भने, ‘आज डिला संग्रौलाजी र म एकै स्थानमा छौँ, निर्वाचनको दौडमा सँगै हिँडिरहेका छौँ। त्यसैले महाधिवेशनको विषय अब सकियो, त्यसतर्फ नजाऔँ।’
छलफलका क्रममा कोइरालाले पार्टी फुटाएर हिँड्नुभन्दा पार्टीलाई जोडेर मुलुकलाई निकास दिनु नै उत्तम विकल्प भएको बताए । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी पूर्ण रूपमा केन्द्रित भइसकेको बताउँदै उनले निर्वाचनले मुलुकको राजनीतिक अन्योल चिर्दै प्रस्ट निकास दिने विश्वास समेत व्यक्त गरे । पार्टीलाई एकढिक्का बनाएर निर्वाचनमा लैजाने दायित्व आफूहरूको काँधमा रहेको भन्दै उहाँले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न निर्देशन दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।