दमक । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका सचिव कमलप्रसाद गैरे पुनः एमालेमै फर्किएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि प्रभावित भएर एमाले त्यागेको बताएका गैरेले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सच्याउँदै एमालेमै रहने प्रतिबद्धता जनाएका हुन् ।
गैरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिरसमेत फेसबुकमा सार्वजनिक गर्दै आफू विद्यार्थी जीवनदेखि नै अनेरास्ववियु हुँदै राष्ट्रिय युवा संघ नेपालमा सक्रिय रहेको उल्लेख गरेका छन् । उनले दमक नगर कमिटीको सदस्य, उपसचिव र सचिवको जिम्मेवारी निर्वाह गर्दै लामो समयदेखि पार्टीका गतिविधिमा इमान्दारीपूर्वक संलग्न रहेको बताएका छन् ।
गैरेले केही व्यक्तिहरूको दबाब र प्रभावमा परी भावनात्मक रूपमा पार्टी छोडेको घोषणा गरेको स्वीकार गर्दै गहिरो सोच, अध्ययन र विश्लेषणपछि एमाले नै राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र भएको निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । उनले हिजो गरेका गल्ती सच्याउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा हिजो पनि आफू यहीँ रहेको, आज पनि यहीँ रहेको र भोलि पनि यहीँ नै रहने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।
दमक, झापा–५ मात्र होइन समग्र राष्ट्रको विकासका लागि पनि केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै गैरेले अध्यक्ष ओलीलाई जिताउनका लागि पार्टी र संगठनमै रहेर अभियानलाई सफल बनाउने संकल्प गरेको जनाएका छन् । बुधबार सचिव गैरे सहित युवा संघका नगर अध्यक्ष र उपाध्यक्षले पनि एमाले परित्याग गरेका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।