विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का झापा–२ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ ।
साइबर ब्युरोको टोलीले फोनमार्फत सम्पर्क गरी नेपाललाई कार्यालयमा उपस्थित हुन भनिएको हो ।
साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपकराज अवस्थीले केही विषयमा बुझ्नका लागि नेपाललाई बोलाइएको जानकारी दिए । उनका अनुसार यो गम्भीर विषय नभएर सामान्य सोधपुछका लागि मात्र हो । ‘गम्भीर विषय होइन, केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो,’ अवस्थीले बताए ।
स्वागत नेपालले केही समयअघि ‘यो नागरिक सरकार होइन’ र ‘नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिलाई लिएर यसअघि पनि उनी साइबर ब्युरोको नियन्त्रणमा परेका थिए । त्यसबेला म्याद थप नगरी उनी रिहा भएका थिए ।
यसपटक भने राष्ट्रिय एकता दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेपालले दिएको अर्को अभिव्यक्तिमाथि सोधपुछ गर्न बोलाइएको ब्युरोको भनाइ छ । उक्त कार्यक्रममा उनले ‘पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए, अहिले पनि देश टुक्र्याउन खोज्नेलाई टुक्र्याउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । ब्युरोले उक्त अभिव्यक्तिलाई हिंसाजन्य भएको आरोप लगाएको छ ।
आफ्ना उम्मेदवारलाई पक्राउ गर्न खोजेको आशंका गर्दै राप्रपाले कडा आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले स्वागत नेपाललाई सोधपुछका नाममा अनावश्यक दुःख दिन खोजिएको आरोप लगाए । उनले उक्त अभिव्यक्ति नेपाल राप्रपामा प्रवेश गर्नुअघि दिएको भन्दै पार्टीसँग जोडेर कारबाही गर्न खोज्नु अनुचित भएको बताए ।
प्रवक्ता श्रेष्ठले सरकार चुनावी समयमा विपक्षी दलका उम्मेदवारलाई दबाब दिने र प्रचारप्रसार अवरुद्ध गर्ने नियतले यस्तो कदम चालेको आरोप पनि लगाएका छन् । झापा–२ मा चुनावी प्रचारमा व्यस्त रहेका नेपाललाई सोधपुछका नाममा झण्झटमा पार्ने प्रयास सह्य नहुने चेतावनीसमेत राप्रपाले दिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।