लोड हुँदैछ...

मेनु

पहिचानवादी नेताहरुले छाडे कुलमानको साथ, उज्यालो नेपाल पार्टीबाट अलग

पहिचानवादी नेताहरुले छाडे कुलमानको साथ, उज्यालो नेपाल पार्टीबाट अलग

विराटनगर । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका तीन जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।पार्टीको साधारण सदस्यसमेत नरहनेगरी उनीहरूले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा पहिचानवादी नेताहरु डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । उनीहरूमध्ये थेगिम पार्टीको समानुपातिक उम्मेदवारसमेत हुन् ।

पार्टी छोड्नुका कारणबारे जारी विज्ञप्तिमा उनेपाभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिया अस्पष्ट रहेको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा स्पष्ट नभएको उल्लेख गरिएको छ । पार्टी परित्यागपछि आफूहरू स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उनीहरूको भनाइ छ ।

कुलमान घिसिङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए । ज्ञानबहादुर गुरुङ र अमर इजम यसअघि नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए । उनीहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान नामाकरण गर्नुपर्ने मागसहितको आन्दोलनमा संलग्न रहँदै आएका थिए ।

डकेन्द्रसिंह थेगिमको नाम उज्यालो नेपाल पार्टीबाट आदिवासी जनजाति क्लस्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवार सूचीमा समावेश गरिएको थियो । पार्टी परित्यागबारे जानकारी दिँदै थेगिमले पहिचान, धर्म निरपेक्षता, ‘नो कोशी’ र ‘नो केबलकार’ जस्ता मुद्दामा पार्टी स्पष्ट हुन नसकेको बताए । उनले यी मुद्दा उठाउने उम्मेदवारलाई आगामी चुनावमा सहयोग गर्ने संकेतसमेत गरेका छन् ।

थेगिम इलाम–२ मा सम्पन्न उपचुनावमा स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसबेला उनलाई हाल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सहयोग गरेका थिए ।

कुलमान घिसिङको पहलमा उज्यालो नेपाल पार्टी गठन भएपछि रास्वपासँग एकताको प्रयास र त्यसपछि भएको विभाजनका क्रममा पनि पार्टीले पहिलो धक्का खाइसकेको थियो । तीन केन्द्रीय सदस्यको राजीनामालाई उनेपाभित्र देखिएको असन्तुष्टिको पछिल्लो घटनाक्रमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds