लोड हुँदैछ...

मेनु

गगन नेतृत्वको कांग्रेसविरुद्ध देउवापक्षीय नेताहरू सर्वोच्चमा

गगन नेतृत्वको कांग्रेसविरुद्ध देउवापक्षीय नेताहरू सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अन्ततः कानुनी लडाइँमा परिणत भएको छ। निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने गरी गरेको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा पक्षीय नेताहरू रिट दायर गर्न आज सर्वोच्च अदालतमा पुगेका हुन् । निर्वाचन आयोगले गत शुक्रबार गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई वैधानिकता दिँदै दल दर्ता किताबमा कांग्रेसको विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। आयोगको सोही निर्णयलाई बदर गर्न माग गर्दै देउवा समूह अदालत पुगेको हो।

काठमाडौंको भृकुटीमण्डपमा गत पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। संस्थापन इतर पक्षले आयोजना गरेको उक्त विशेष महाधिवेशनलाई देउवा पक्षले सुरुदेखि नै अवैधानिक भन्दै बहिष्कार गर्दै आएको थियो।

आयोगले नयाँ समितिलाई मान्यता दिएपछि रुष्ट बनेको देउवा पक्षको शनिबार बसेको बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम आज सर्वोच्चमा रिट दर्ता गरिएको हो।

विशेष महाधिवेशनको वैधानिकता र निर्वाचन आयोगको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै दायर गरिएको यो रिटले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा र पार्टीभित्रको शक्ति संघर्षलाई थप जटिल मोडमा पुर्‍याएको छ। अदालतले दिने आदेशले नै अब कांग्रेसको आधिकारिक नेतृत्व कसको हुने भन्ने टुंगो लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds