विराटनगर । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि प्रदेश सांसद र पालिका प्रमुख÷अध्यक्षमा बाहल जनप्रतिनिधिहरु पनि आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते (आउँदो मंगलबार) मनोनयनको समय तोकिएको छ ।
त्यसका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध रहेका प्रदेश सांसद तथा पालिकाका प्रमुख÷अध्यक्षहरुले आकांक्षा राखेका हुन् । प्रतिनिधिसभामा उम्मेद्वारी दिनका लागि बाहल जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्नेछ । आफ्ना जनप्रतिनिधिले राजीनामा दिए माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनको मतभारमा परिवर्तन हुनेमा कतिपय पार्टीहरु सचेत देखिएका छन् ।
हालसम्म नेकपा एमालेबाट ताप्लेजुङ (१) बाट प्रदेशसभामा निर्वाचित तिलकुमार मेन्याङ्बो प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारका आकांक्षी हुन् । उनी ताप्लेजुङबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहन्छन् । एमाले स्रोतका अनुसार सो जिल्लाबाट पार्टीका उपमहासचिव योगेश भट्टराईलाई अन्यत्रै व्यवस्थापन गरेर मेन्याङ्बोलाई दिने तयारी गरिएको छ ।
यस्तै एमालेले मोरङको २ नम्बर निर्वाचन क्षेत्रका लागि रंगेलीका प्रमुख दिलिप अग्रवाललाई टिकट दिने सम्भावना बढेको स्रोतको दाबी छ । सो क्षेत्रबाट यसअघि एमालेका केन्द्रीय सदस्य ऋषिकेश पोखरेलले जितेका थिए । यस पटक उनलाई रोकेर अग्रवाललाई टिकट दिने एमालेवृत्तमा चर्चा छ । अग्रवाल रंगेली नगरपालिकामा दोस्रो पटक कार्यभार सम्हालिरहेका छन् ।
यस्तै मोरङको क्षेत्र नम्बर ३ बाट कानेपोखरीकी अध्यक्ष राजमति इङ्नामलाई उठाउने तयारी एमालेले गरेको एमाले स्रोतको दाबी छ । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले इङ्नाम, मेन्याङ्बो र अग्रवालको नाम माथि सिफारिस गरिएको बताए । यद्यपि उनले प्रदेश सांसद र पालिकाका जनप्रतिनिधिले राजीनामा दिँदा माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनमा मत प्रभावित हुनसक्ने तर्फ आफूहरु सजक रहेको बताए । ‘प्रदेश समितिको तर्फबाट हाल प्रदेश र पालिकामा बाहल रहेकालाई टिकट नदिनु नै उपर्युक्त भएको भनेर केन्द्रमा सुझाव पठाएका छौं,’ उनले भने । उनका अनुसार शनिबार बस्ने एमाले सचिवालयको बैठकले सबै क्षेत्रको टिकट फाइनल गर्नेछ । यस्तै एमाले प्रदेश सांसद तथा पूर्वमन्त्री रेवतीरमण भण्डारीको नाम पनि सुनसरी २ नम्बरमा रहेको छ । यद्यपि भण्डारी आफैंले त्यो निर्णय गरिनसकेको बताए ।

उता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का पनि चार जना जनप्रतिनिधिले प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा राखेका छन् । जसमा इलाम १ बाट सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले आकांक्षा राखेका छन् । उनी दोस्रो पटक पालिका प्रमुखको रुपमा कार्यरत छन् । सो क्षेत्रबाट पार्टी नेता झलनाथ खनालको नाम आएपनि उनले आफू त्यहाँबाट नलड्ने बताइसकेका छन् ।
यस्तै नेकपाका युवा नेतासमेत रहेका सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले प्रतिनिधिसभामा जाने इच्छा राखेका छन् । उनले पालिकामा दोस्रो कार्यकालको काम गरिरहेका छन् । यसअघि सो क्षेत्रबाट एमालेका मानवीर राईले जितेका थिए । नेकपाका नेता सुरविर राईको नाम पनि सो जिल्लाबाट चर्चामा छ । यस्तै उदयपुर लिम्चुङबुङका अध्यक्ष मेजर राईले पनि उदयपुर २ बाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने इच्छा राखेका छन् । राई सो पालिकामा दोस्रो पटक निर्वाचित भएका थिए । सो क्षेत्रबाट यसअघि एमालेका अम्बरबहादुर रायमाझीले जितेका थिए । सोही क्षेत्रमा नेकपाका सुरेशकुमार राई (हिमाल) र जगन्नाथ खतिवडा पनि आकांक्षी हुन् ।
यस्तै ओखलढुंगा चिसंखुगढीका अध्यक्ष निशान्त शर्मा बास्तोलाले पनि प्रतिनिधिसभामा जाने आकांक्षा राखेका छन् । पालिकाको अध्यक्षको रुपमा दोस्रो कार्यकालका लागि विजयी भएका शर्मा पार्टीले टिकट दिए प्रतिनिधिसभामा चुनाव लड्ने बताउँदै आएका छन् । ओखलढुंगा प्रतिनिधिसभामा यसअघि नेपाली काँग्रेसका रामहरि खतिवडाले जितेका थिए । नेपाली कम्युनिष्ट पार्टीका नेता इन्द्रबहादुर आङ्बोले पार्टीले टिकट फाइनल गरिनसकेको बताए । उनका अनुसार प्रदेश सांसदहरु भने कसैले पनि प्रतिनिधिसभामा लड्ने इच्छा राखेका छैनन् ।
उता, निर्वाचनको मुखमा विवादको भुमरीमा परेको नेपाली काँग्रेसका केही प्रदेश सांसहरु पनि प्रतिनिधिसभाका लागि टिकटको लविङमा छन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका केदार कार्की आफू पनि उपर्युक्त ठाउँमा टिकट पाए चुनाव लड्ने बताउँदै आएका छन् । विश्वस्त स्रोतका अनुसार मोरङ ६ बाट डाक्टर शेखर कोइराला प्रतिस्पर्धा गर्ने या नगर्ने भन्ने विषयमा मौन छन् । पार्टीको आधिकारिकता गगन थापाको पोल्टामा पुगेपछि त्यसको विरोध गरेका कोइरालाले निकटस्थहरुलाई निर्वाचन नलड्ने संकेत गरेका छन् । कोइरालाले निर्वाचन नलडे आफू लड्ने बताउने कार्कीले निकटहरुलाई चुनावको तयारी गर्न भनिसकेको बताइएको छ ।
यस्तै निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका काँग्रेस कोशीका महामन्त्री भुपेन्द्र राई पनि खोटाङबाट प्रतिनिधिसभामा निर्वाचन लड्ने इच्छा राख्दै आएका छन् । ‘पार्टीभित्रको विवाद समाधान नभएसम्म केही पनि बोल्न सक्ने अवस्थामा छैन,’ उनले भने । यसअघि भने उनले पार्टीले टिकट दिएको अवस्थामा निर्वाचन लड्ने बताउँदै आएका थिए ।
यस्तै ताप्लेजुङबाट प्रदेश सांसद बनेका खगेनसिंह हाङ्गाम पनि प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने चाहना राखेको काँग्रेस स्रोत बताउँछ । सो क्षेत्रबाट यसअघि एमालेका योगेश भट्टराई निर्वाचित भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।