लोड हुँदैछ...

मेनु

कांग्रेस फुट्दा योगेशको प्रश्न : देउवा दाइ,सम्झना छ २०७८ को त्यो दिन ?

कांग्रेस फुट्दा योगेशको प्रश्न : देउवा दाइ,सम्झना छ २०७८ को त्यो दिन ?

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेस विभाजन भएकोप्रति दुःख व्यक्त गरेका छन् । लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेको पुरानो दल विभाजित हुनु लोकतन्त्रका लागि सुखद नभएको बताउँदै उनले कांग्रेसलाई पुनः एकताबद्ध हुन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भट्टराईले पार्टीको विधान, नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा कांग्रेसभित्रको विवादको कानुनी छिनोफानो हुनुपर्ने बताएका छन् । यो कांग्रेसको आन्तरिक मामिला भए पनि राजनीतिक वैधता र जनचाहना निर्णयको सर्वोपरि सवाल हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रियाकै क्रममा उपमहासचिव भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई विगतको एउटा तितो प्रसंग स्मरण गराएका छन् । देउवा प्रधानमन्त्री भएको समयमा एमाले विभाजनका लागि ल्याइएको अध्यादेशको चर्चा गर्दै उनले अहिलेको अवस्थालाई त्यसैसँग जोडेका छन् ।

‘तितो स्मरण होस्– संविधान विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) लाई विभाजित गरिँदा शेरबहादुर दाइ नै प्रधानमन्त्री हुनुहुन्थ्यो,’ भट्टराईले लेखेका छन्, ‘त्यतिबेला एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै भनिएका थियौँ– प्रधानमन्त्रीज्यू कुनै बेला तपाईँलाई पनि आइपर्ला है ! ’

उनले २०७८ असारमा एमाले फुटाउन सहज हुने गरी ल्याइएको अध्यादेश र तत्कालीन सभामुखको भूमिकालाई पनि प्रश्न गरेका छन् । साथै, २०५४ सालमा एमाले विभाजन हुँदाको समयमा सभामुखको भूमिका कस्तो थियो भन्ने कुरा पनि उनले स्मरण गराएका छन् ।

भट्टराईले कसैले कसैलाई टुटफुट र विभाजनका लागि नउकास्न आग्रह गर्दै समयको वेग र जनचाहनालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेस पुनः एक हुने अवस्था बनोस् भन्दै कांग्रेसीजनमा शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds