विराटनगर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ कमी गरिएको छ ।
निगमले तय गरेको नयाँ वर्गिकृत मूल्यसूचीअनुसार अब पहिलो वर्गअन्तर्गत पर्ने विराटनगर, चारआली, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यसैगरी, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १५५ रुपैयाँ तोकिएको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ । नयाँ मूल्यसूचीअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३६ रुपैयाँ (तेस्रो वर्गको क्षेत्रमा) मा प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको फेरबदलका आधारमा निगमले समय(समयमा मूल्य समायोजन गर्दै आएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।