लोड हुँदैछ...

मेनु

मोरङमा निर्वाचन प्रहरी बन्न मागभन्दा बढी आवेदन, साढे ४ हजार बढीले दिए दरखास्त

मोरङमा निर्वाचन प्रहरी बन्न मागभन्दा बढी आवेदन, साढे ४ हजार बढीले दिए दरखास्त

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा निर्वाचन प्रहरी बन्न युवायुवतीको उल्लेख्य आकर्षण देखिएको छ । जिल्लामा म्यादी प्रहरीका लागि तोकिएको कोटाभन्दा बढीको आवेदन मंगलबारसम्ममै परिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविता कटवालका अनुसार मोरङका लागि ४ हजार ३ सय ८३ जनाको कोटा तोकिएको थियो । तर, आवेदन दिने म्याद अझै दुई दिन बाँकी रहँदै मागभन्दा ३ सय ९८ जना बढी अर्थात् ४ हजार ७ सय ८१ जनाले दरखास्त दिएका छन् ।

आवेदन दिनेहरूमा ३ हजार ४ सय ३७ पुरुष र १ हजार ३ सय ४४ महिला रहेका छन् । गत पुस २५ गतेदेखि सुरु भएको दरखास्त संकलन माघ १ गतेसम्म चल्नेछ । एसपी कटवालले भने, ‘अझै दुई दिन समय बाँकी छ, त्यसैले आवेदन दिनेको संख्या अझै बढ्ने देखिएको छ ।’

निर्वाचन सुरक्षालाई लक्षित गरी भर्ना गर्न लागिएका यी म्यादी प्रहरीलाई छनोट प्रक्रियापछि विशेष तालिम दिइनेछ । उनीहरूलाई निर्वाचनको सुरक्षा, मतपेटिका ढुवानी र भिडभाड व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारीमा परिचालन गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।