विराटनगर । डेढ वर्षअघि रोजगारीका लागि अमेरिका पुगेका विराटनगर–१५ रानीका बिबेक कुमार दाहालको मस्तिष्कघातका कारण उपचारकै क्रममा निधन भएको छ ।
दाहालको निधनपछि परिवारले आर्थिक संकटको कारण पार्थिव शरीर नेपाल ल्याउन समस्यामा परेको जनाएको छ ।
वासिङटन डीसीस्थित मेडस्टार वासिङटन हस्पिटल सेन्टरमा तीन हप्तासम्म उपचाररत ३२ वर्षीय दाहालको पुस १६ मा निधन भएको हो । निधन भएको १३ दिन बितिसक्दा पनि खर्च अभावकै कारण अन्तिम संस्कारका लागि दाहालको शव नेपाल ल्याउन नसकिएको उनकी धर्मपत्नी सिर्जना कार्कीले बताएकी छन् ।
अस्पताल उपचार खर्च र शव नेपाल ल्याउन आवश्यक ठूलो रकम जुटाउन परिवारका लागि कठिन बनेको छ । दाहाल अमेरिका मेरिल्याण्डको वाल्डोर्फमा बसोबास गर्दै आएका थिए।
परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर अमेरिका पुगेका दाहाललाई अचानक मस्तिष्कघात भएपछि उपचारकै क्रममा मृत्यु भएको खबरले विक्षिप्त बनेको छ । उनकी ७ वर्षीया छोरी छन् ।
शोकमा रहेको परिवारले बिबेकको पार्थिव शरीर नेपाल ल्याई परम्पराअनुसार सम्मानपूर्वक अन्तिम संस्कार गर्ने चाहना व्यक्त गर्दै सहयोगको अपिल गरेको छ । यही उद्देश्यले एनआरएन मेरिल्याण्ड च्याप्टरले ‘गो फन्ड मी’ अभियानसमेत सञ्चालन गरिरहेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।