विराटनगर । विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सीटी सफारी (ई–रिक्सा) को अव्यवस्थित र असुरक्षित यात्रा अब अन्त्य गरिदै सुरक्षित चालक अभियान सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सुरु गरेको ‘सुरक्षित चालक’ अभियानले सफारी सञ्चालनलाई कानुनी, व्यवस्थित र यात्रुमैत्री बनाउने नयाँ अभियानको सुरुवात गरेको हो ।
यो अभियानअन्तर्गत अब विराटनगरमा चल्ने प्रत्येक सफारी चालक ट्राफिक प्रहरीको कम्प्युटर प्रणालीमा दर्ता हुनुपर्नेछ । नेपालमै पहिलोपटक सुरु गरिएको यस डिजिटल अभिलेख प्रक्रियापछि चालकले एउटा विशिष्ट दर्ता नम्बर प्राप्त गर्नेछन् । सो नम्बर ‘सुरक्षित चालक’ लेखिएको विशेष ज्याकेटको पछाडि स्पष्ट देखिने गरी छापिनेछ ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार, अब यात्रुले चालकको नाम वा सफारी नम्बर खोजिरहनु पर्दैन । ज्याकेटमा रहेको दर्ता नम्बरकै आधारमा चालकको पहिचान हुने र कुनै समस्या परेमा सहजै उजुरी गर्न सकिने व्यवस्था मिलाइएको छ । दर्ता हुनुअघि चालकले अनिवार्य रूपमा ट्राफिक नियम र सुरक्षासम्बन्धी विशेष अनुशिक्षण तालिम लिनुपर्नेछ ।
विराटनगर भारतीय सीमा नजिक भएकाले ठूलो संख्यामा भारतीय नागरिकले अवैध रूपमा सफारी चलाउँदा सुरक्षा जोखिम र आर्थिक पलायनको समस्या थियो । यसलाई रोक्न ट्राफिक प्रहरीले दर्ताका लागि नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरेको छ । यस कदमले नेपाली चालकको रोजगारी सुनिश्चित गर्ने र अपराधीक गतिविधिमा सफारीको प्रयोग हुन नदिने विश्वास लिइएको छ ।
विराटनगरमा मात्रै करिब ८४ प्रतिशत चालकसँग लाइसेन्स नभएको तथ्याङ्क सार्वजनिक भएपछि सरकारले नीतिगत सुधार गरेको छ । धेरैजसो चालक निरक्षर भएकाले लिखित परीक्षा पास गर्न नसक्ने समस्यालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले नियमावली संशोधन गरेको छ । अब सफारी चालकले लिखित परीक्षा दिनु पर्दैन प्रयोगात्मक (ट्रायल) परीक्षा पास गरे पुग्ने व्यवस्था गरिएको छ । यसले हजारौँ श्रमिक चालकलाई कानुनी दायरामा आउन बाटो खोलेको छ ।
गत पुस १७ गतेबाट सुरु भएको यो अभियानमा हालसम्म २०० बढी चालक दर्ता भइसकेका छन् । ट्राफिक प्रहरीले आगामी माघ महिनादेखि लाइसेन्स, ब्लुबुक र सुरक्षित चालकको पोसाक बिना सफारी चलाउन पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ । ज्याकेटको दुरुपयोग भएमा वा अरूलाई हस्तान्तरण गरेमा प्रतिलिपि अधिकार ऐनअनुसार कडा कारबाही गरिनेछ ।
‘यो अभियान केवल ट्राफिक नियमन मात्र नभएर सडक सुशासन र हजारौँ श्रमिक परिवारको जीवनमा स्थायित्व ल्याउने एउटा महत्वपूर्ण पहल हो । विराटनगरबाट सुरु भएको यो नमुना अभियानलाई चाँडै मोरङ जिल्लाभर विस्तार गर्ने लक्ष्य राखिएको छ, जसले कोशी प्रदेशको यातायात क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने निश्चित छ,’ ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले भने ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।