लोड हुँदैछ...

मेनु

राज्यले पहिचानविहीन बनाएको सहिद परिवारको गुनासो

राज्यले पहिचानविहीन बनाएको सहिद परिवारको गुनासो

धनकुटा । धनकुटाको छिन्ताङका शहिद परिवारले राज्यकै व्यवहारका कारण आफूहरू ‘परिचय र पहिचानविहीन’ बनेको गुनासो गरेका छन्।

शनिबार छिन्ताङ पुगेका कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीसँग भेटका क्रममा शहिद परिवारले यस्तो गुनासो गरेकाक हुन् ।

राष्ट्रिय शहिद घोषणा भएपनि त्यसअनुसारको सम्मान, अभिलेख र सुविधा नपाएको उनीहरुको गुनासो छ । मन्त्री पराजुली शनिबार पञ्चकन्यास्थित शहिद पार्कमा पुगेर छिन्ताङ हत्याकाण्डमा मारिएका शहिदका अर्धकदका शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए। त्यसपछि आयोजित भेटघाट कार्यक्रममा शहिद परिवार, आफन्त र पार्टी कार्यकर्ताले आफ्ना समस्या राखेका हुन् ।

छिन्ताङ हत्याकाण्डमा मारिएका शहिद धनबीर दर्जीका छोरा सोमबहादुर नेपालीले राज्यले आफ्नो परिवारलाई योग्यताअनुसार रोजगारी र आत्मनिर्भर बन्ने अवसर नदिएको गुनासो गरे । ‘हाम्रा बुबा, छिमेकी र गाउँलेको बलिदानबाट प्रजातन्त्र आयो,’ उनले भने, ‘तर त्यही राज्यले हामीलाई नै पहिचानविहीन बनायो।’ उनले आफूजस्तै शहिदका सन्तानलाई क्षमताअनुसार रोजगारीको व्यवस्था गरिदिन आग्रह गरे।

छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई २०७४ सालमा सरकारले दुई चरणमा राष्ट्रिय शहिद घोषणा गरेको थियो । तर, राष्ट्रिय शहिद घोषणा भएपनि त्यसको आधिकारिक अभिलेख र शहिद परिचयपत्र नपाएको भन्दै शहिद परिवारले सरकारसँग ती व्यवस्था गर्न माग गरेका छन्।

मन्त्री पराजुलीले प्रदेश सरकार शहिदका आश्रित परिवारलाई आत्मनिर्भर बनाउने विषयमा सकारात्मक रहेको बताए । उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा छिन्ताङबाट भएको बलिदान कहिल्यै नबिर्सिने प्रतिबद्धता जनाउँदै शहिद परिवारका गुनासो सम्बोधनका लागि पहल गर्ने बताए।

भोकमरीविरुद्ध आन्दोलनमा उत्रिएका स्थानीयलाई दबाउन तत्कालीन पञ्चायती सरकारले २०३६ कात्तिक २२ देखि २९ गतेसम्म खोकु, छिन्ताङ र आखिसल्ला गाविस क्षेत्रमा विशेष प्रहरी कारबाही चलाएको थियो। त्यस क्रममा पञ्चायती व्यवस्था विरोधी अभियानमा लागेको आरोपमा धरपकड, यातना र हत्या गरिँदा दुई महिला र नाबालकसहित छिन्ताङका १३ र आखिसल्लाका ३ जना किसानको ज्यान गएको थियो।

पञ्चायती शासकको दमनबाट आखिसल्लाका झगेन्द्र राई, गणेशबहादुर विश्वकर्मा र विद्यार्थी केशरमान राई तथा छिन्ताङका गोपालआनन्द राई, टंकबहादुर विश्वकर्मा, धनबीर दर्जी, लाखमान साधु राई, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रीहाङ राई, गम्भीरमान दर्जी, चन्द्रबहादुर दर्जी, श्रीमाया राई, रामकुमारी राई, भैरवबहादुर खालिङ राई, बलबहादुर खत्री र पुत्रमान राईको हत्या भएको थियो । मारिएका सबै १६ जनालाई राष्ट्रिय शहिद घोषणा गर्दै संघीय सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने घोषणा गरेमा राहत अहिलेसम्म नपाएको शहिद परिवारले गुनासो गरेका छन्।

कोशी प्रदेश सरकारले भने यसअघि नै शहिद परिवारलाई जनही ५ लाख रुपैयाँ राहत प्रदान गरिसकेको छ। शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले संघीय सरकारले अझै राहत उपलब्ध नगराउनु सहिद परिवारप्रतिको वेवास्ता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।