खोटाङ । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान सम्पन्न भएसँगै यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने उक्त स्थानमा बेलिब्रिज जडान भएपछि शनिबारदेखि सवारी साधन सञ्चालन सुरु भएको हो ।
गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर सुमन गोलेका अनुसार बेलिब्रिज जडानको ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालिले मूल्य अभिवृद्धि करसहित ९६ लाख ७७ हजार ९ सय ३७ रुपैयाँमा लिएको थियो । सो स्थानमा रहेको पक्की पुल २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी रूपमा बेलिब्रिज जडान गर्नुपर्ने अवस्था आएको थियो।
बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङको तराई क्षेत्रसँगको सिधा यातायात सम्बन्ध पुनः स्थापित भएको छ । यसले जिल्लावासीको दैनिक जनजीवनमा ठूलो सहजता ल्याएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए ।
सुनकोशी नदीकै बङ्शिलाघाट क्षेत्रमा अर्को बेलिब्रिज जडानको काम तीव्र रूपमा अघि बढिरहेको छ। खोटाङको बाराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने उक्त स्थानमा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा बेलिब्रिज जडान भइरहेको बाराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराले जानकारी दिए।
गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालिले सो बेलिब्रिज जडानको जिम्मा लिएको छ। लगातार पुल क्षतिका कारण प्रभावित बनेको पूर्वी पहाडी यातायात संरचना बेलिब्रिजमार्फत क्रमशः सहज बन्दै गएको स्थानीयवासीले बताएका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।