लोड हुँदैछ...

मेनु

एनआइसी एसिया बैंक इटहरी शाखामा आत्मदाह प्रयास गर्ने व्यक्ति प्रहरी हिरासतमा

एनआइसी एसिया बैंक इटहरी शाखामा आत्मदाह प्रयास गर्ने व्यक्ति प्रहरी हिरासतमा

इटहरी । एनआइसी एसिया बैंक लिमिटेडको इटहरी शाखामा आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इटहरीका लालबहादुर पौडेल प्रहरी हिरासतमा पुगेका छन्।

प्रहरीले उनलाई पक्राउ गरी ७ दिनको म्याद थप गर्दै घटनासम्बन्धी अनुसन्धान अगाडि बढाएको छ।

गत सोमबार नागरिक बचाउ अभियानका केही प्रतिनिधिसहित बैंक पुगेका पौडेलले बैंक परिसरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। सो घटनापछि प्रहरीले उनलाई अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गर्दै नियन्त्रणमा लिएको हो। दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानले लामो समयदेखि बैंकको ऋण मिनाहा तथा बैंक तथा वित्तीय संस्थाको विरोधमा अभियान सञ्चालन गर्दै आएको छ।

प्रहरी तथा बैंक स्रोतका अनुसार पौडेलले एनआइसी एसिया बैंकबाट लिएको ऋणमा कुनै किसिमको ताकेता वा धितो लिलामी प्रक्रिया अघि बढाइएको थिएन। ऋणमा समस्या नरहे पनि व्यक्तिगत सापटी रकम उठाउन बैंकमाथि दबाब सिर्जना गर्ने उद्देश्यले उनले यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

पौडेलले बैंकबाट लिएको ऋणको रकम इटहरीकै गंगाचरण शाहलाई सापटी दिएका थिए। मदिरा उद्योग सञ्चालनका लागि पैसा अपुग भएको भन्दै शाहले सापटी मागेको र सो क्रममा पौडेलका नातामा सालो पर्ने अशोक अधिकारीले दुबैबीच सम्पर्क गराएको बताइएको छ। लामो समयसम्म सापटी रकम फिर्ता नपाएपछि पौडेल आर्थिक समस्यामा पर्दै गएका थिए।

गंगाचरण शाहले सापटी रकम बराबरको चेक दिए पनि सो चेक अनादर भएपछि पौडेलले कानुनी प्रक्रिया अघि बढाएका छन्। यसैबीच एनआइसी एसिया बैंकले भने शाहको जग्गा लिलामी गर्दै सेटलमेन्ट प्रक्रिया अगाडि बढाएको छ, जसअनुसार काठमाडौंका एक व्यवसायीले उक्त जग्गा लिन प्रक्रिया थालेका छन्।

गंगाचरणले सापटी रकम नफिर्ता दिएको र बैंकले उनको सम्पत्ति लिलामी गरेको अवस्थामा आफूले पनि आफ्नो पैसा पाउनुपर्ने मागसहित पौडेलले धम्कीपूर्ण व्यवहार देखाएका थिए। सोही कारण उनी हाल प्रहरी हिरासतमा रहेका छन्।

प्रहरीले गंगाचरण शाहलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान गरिरहेको जनाएको छ। उनीविरुद्ध बैंकिङ कसुर, ठगीलगायत ६ वटा मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ।

एनआइसी एसिया बैंकले भने आफ्ना कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। बैंकले दोस्रो व्यक्तिको व्यक्तिगत लेनदेनमा आफू संलग्न नहुने स्पष्ट गर्दै कुनै पनि बहानामा यस्ता अभद्र व्यवहार सह्य नहुने र दोषीमाथि कडाइका साथ कारबाही हुनुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।