लोड हुँदैछ...

मेनु

गोकर्णेश्वरका विकट गाउँको विकासका लागि ऊर्जा मन्त्रीलाई ध्यानाकर्षण

गोकर्णेश्वरका विकट गाउँको विकासका लागि ऊर्जा मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने ओख्रेनी, सानु चिलाउने, ठूलो चिलाउने र कुने गाउँका बासिन्दाले आफ्ना क्षेत्रका विद्यमान समस्या समाधानको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

स्थानीय बासिन्दाहरूको एक टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन्। बागमती नदीको मुहान बागद्वार नजिकै रहेको यो क्षेत्र प्राकृतिक, पर्यटकीय र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भए पनि भौगोलिक विकटताका कारण आधारभूत सेवा–सुविधाबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ। ज्ञापनपत्रमा विकासका पूर्वाधार अभावले जनजीवन अत्यन्तै कष्टकर बनेको उल्लेख गरिएको छ।

विशेष गरी सडक, विद्युत्, शिक्षा, स्वास्थ्य र खानेपानीको समस्यालाई प्रमुखताका साथ उठाइएको छ। वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध हुने, विद्युत् आपूर्ति अनियमित हुने र सुरक्षित खानेपानीको अभावले स्थानीयले दैनिक सास्ती खेप्नुपरेको ज्ञापनपत्रमा जनाइएको छ।

यस्तै, गाउँमा रहेका विद्यालयमा कक्षा ८ सम्म मात्र अध्ययन अध्यापन हुने र स्वास्थ्य चौकीमा दक्ष जनशक्तिको अभाव हुँदा थप समस्या सिर्जना भएको स्थानीयको भनाइ छ। जेन जी अगुवा अस्मिता खत्रीको नेतृत्वमा बुझाइएको उक्त पत्रमा विकासका पूर्वाधार अभावकै कारण गाउँबाट सहरतर्फ पलायन हुने क्रम बढेको बताइएको छ। स्थानीयले ती क्षेत्रका लागि तत्काल आवश्यक योजना तर्जुमा गर्न, पर्याप्त बजेट व्यवस्था गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रीसमक्ष माग गरेका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री घिसिङले ती क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। स्थानीय बासिन्दाहरूले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई दीर्घकालीन र दिगो विकासका कार्यक्रम सञ्चालन गर्नेमा विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।